काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइका लागि सुरक्षण मुद्रण केन्द्रसँग अन्तिम सम्झौता गर्ने तयारी गरेको छ ।
गत वैशाखमा क्यूआर कोड सहितको लाइसेन्स छपाइका लागि विभाग र मुद्रण केन्द्र बीच प्रारम्भिक सम्झौता भएको थियो । आवश्यक तयारी सकी अब अन्तिम सम्झौता गर्न लागिएको विभागले जनाएको छ ।
विभागका सूचना प्रविधि शाखाका प्रमुख (निर्देशक) केशव खतिवडाले लाइसेन्स छपाइको लागि सुरक्षण मुद्रण केन्द्रसँग अन्तिम सम्झौता गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । उनका अनुसार अन्तिम सम्झौताका लागि आज (असोज ३१गते) मात्रै केन्द्रलाई पत्रचार गरिएको उनले बताए ।
‘मुद्रण केन्द्रबाट लाइसेन्स छाप्ने सम्झौता गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । आज मात्रै केन्द्रले सोधेका केही कुराहरू स्पष्ट बनाई पत्रचार गरेका छौं,’ उनले मेरोअटोसँग, ‘अब केन्द्रले खबर गर्ने बित्तिकै सम्झौता हुन्छ । तिहार अघि नै सम्झौता हुनसक्ने सम्भावना छ ।’
उनका अनुसार लाइसेन्सको मूल्य, गुणस्तर परीक्षण लगायत केही कुराको अन्तिम टुंगो लाग्न बाँकी छ । उनले आगामी १ वर्ष भित्र सबै लाइसेन्स छापेर वितरण गरिने बताए । केन्द्रले मासिक डेढदेखि २ लाखसम्म लाइसेन्स छापेर दिने जानकारी दिएको उनले बताए ।
‘१ वर्ष भित्र सबै लाइसेन्स छापेर वितरण गर्ने लक्ष्य छ । केन्द्रले मासिक २ लाखसम्म लाइसेन्स छापेर दिन्छौं भनेको छ,’ उनले भने ।यातायात व्यवस्था विभागका अनुसार हाल ट्रायल पास भएका नयाँ र नवीकरण गरी करिब ३० लाख लाइसेन्स छाप्न बाँकी छ ।
यसअघि केन्द्र सरकार मातहतको यातायात व्यवस्था विभागले लाइसेन्स छाप्दै आएको थियो । तर, विभागले समयमै लाइसेन्स छापेर सेवाग्राहीलाई समयमै उपलब्ध गराउन नसकेपछि मुद्रण केन्द्रबाट छापेर वितरण गर्ने तयारी गरिएको हो ।
साथै, गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण विभागको प्रिन्टर, लाइसेन्स छाप्न आवश्यक स्मार्ट कार्ड लगायत सम्पूर्ण सामग्री जलेकाले विभागले तत्कालै लाइसेन्स छाप्ने अवस्था छैन । आगलागीबाट विभागको कार्यालय भवन र अनलाइन प्रणालीमा क्षति पुगकाले भदौ २४ देखि लाइसेन्स सम्बन्धी सम्पूर्ण काम अनिश्चितकालका लागि बन्द गरिएको छ ।
विभागको सर्भरसहित आवश्यक तयारी अन्तिम चरणमा पुगेकाले तिहार लगत्तै लाइसेन्सको नयाँ आवेदन खुलाइने निर्देशक खतिवडाले बताए ।

