काठमाडौं । अमेरिकी कार निर्माता कम्पनी फोर्डले सन् २०१३ बाट भारतमा उत्पादन सुरु गरेको पहिलो सब फोर मिटर एसयूभीलाई ठूलो परिमार्जन सहित बजारमा ल्याउने तयारी गरेको छ । अहिले भारतका विभिन्न क्षेत्रमा यसको परिक्षण भइरहेको तस्विरहरु बाहिर आएका छन् ।
बाहिर आएको तस्विरको आधारमा इकोस्पोर्टको फ्रन्ट फेसिकामा धेरै परिवर्तन देख्न सकिन्छ । यसको अगाडिको बम्पर र ग्रिल नयाँ डिजाइनको देखिएको छ । फेसलिफ्ट मोडलमा कम्पनीले आफ्नो पुरानै फगल्याम्प हाउजिङमा केही परिमार्जनगरी प्रयोग गरेको देख्न सकिन्छ । फगल्याम्पसँगै जोडिएको एलइडी डे टाइम रनिङ लाइट निकै आकर्षक देखिएको छ । साथै हेडल्याम्पमा केही परिमार्जन सहित पुरानै यूनिट देख्न सकिने छ ।
सम्भवत स्कोस्पोर्टमा १.५ लिटर डिजेल र १.५ लिटर पेट्रोल इन्जिनलाई नै निरन्तरता दिन सक्ने देखिएको छ । यसअघि महिन्द्रासँग सहकार्यमा १.२ लिटर टर्बो इन्जिनमा पनि इकोस्पोर्ट आउने रिपोर्ट सार्वजनिक भएको थियो । तर, यी दुई कम्पनी बीचको सहकार्य टुटेपछि यो विषय भने अनिश्चित भएको छ ।
नेपाली बजारमा पनि सुरुदेखि विक्री हुँदै आएको इकोस्पोर्ट निकै सफल सब फोर मिटर एसयूभीमा पर्छ । नयाँ फेसलिफ्ट इकोस्पोर्ट सन् २०२१ को अन्त्यसम्ममा बजारमा आइसक्ने अनुमान गरिएको छ ।

