काठमाडौं । होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले हाइनेस सिबी ३५० नेपाल ल्याएको केही दिनपछि नै अर्को नयाँ मोडल हर्नेट २.० नेपाल ल्याएको छ । अहिले यसको परिक्षण भइरहेको होन्डाले जनाएको छ ।

अहिले ग्राहकको प्रतिक्रिया लिइरहेको स्याकार ट्रेडिङले केही समयपछि यसको विक्री सुरु गर्ने जानकारी दिएको छ । गतवर्ष नै भारतीय बजारमा सार्वजनिक भएको हर्नेट २.० कोभिड १९ संक्रमणको कारण नेपाल आउन सकेको थिएन । निकै चर्चामा रहेको हर्नेट २.० होन्डाको कान्तिपथ स्थित शोरुममा आइपुगेको छ ।
होन्डा हर्नेट २.० मा १८४ सीसी सिंगल सिलिन्डर, लिक्वीड कुल्ड एफआई बीएस६ इन्जिन रहेको छ । यो इन्जिनले ८५०० आरपीएममा अधिकतम १७.०३ पावर तथा १६.१० एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियर बक्स जडान गरिएको छ । यसमा १२ लिटर क्षमताको इन्धन ट्याङक रहेको छ भने यसले ४० किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीले दावी गरेको छ ।

होन्डा हर्नेटलाई कम्पनीले नयाँ प्लेटफममा डिजाइन गरेको छ । यसमा डायमण्ड फ्रेमको प्रयोग गरिएको छ भने यसको फ्रन्टमा गोल्डेन यूएसडी र रियरमा मोनोशक सस्पेन्सन दिइएको छ ।
यो मोटरसाइकलमा १७ इन्चको अलोय ह्वील रहेको छ । यसको दुबै ह्वीलमा डिस्क ब्रेक दिइएको छ । फ्रन्टमा २७६ एमएम र रियरमा २२० एमएमको डिस्क ब्रेकको साथै यसमा सिंगल च्यानल एबीएस उपलब्ध रहेको छ ।

कम्पनीले यसमा अल डिजिटल कन्सोल दिएको छ । यसमा व्याट्री भल्ट मिटरसमेत रहेको छ । यस्तै डबल पेटल डिस्क ब्रेक, सिंगल च्यानल एबीएस, गोल्डेन कलर अपसाइड डाउन फर्क, मोनोशक सस्पेन्सन, सिल्ड चेन, एलइडी हेडल्याम्प तथा टेलल्याम्प जस्ता फिचर नयाँ हर्नेट २.० मा पाउन सकिन्छ ।
होन्डा २.० मा रहेको गोल्डेन यूएसडी फर्क यो सेग्मेन्ट फर्ष्ट फिचर हो । यो सेग्मेन्टमा उपलब्ध मोटरसाइकल मध्ये सबैभन्दा वाइड टायर पनि यसमा पाउन सकिन्छ ।
यो मोटरसाइकलको मूल्य ४ लाख ६० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

यसअघि होन्डाको लाइनअपमा २०० सीसी सेग्मेन्टमा मोटरसाइकलसँग प्रतिस्पर्धा गर्ने मोडल रहेको थिएन । होन्डा हर्नेटले २०० सीसी सेग्मेन्टमा रहेको बजाज पल्सर एनएस २०० र टीभीएस अपाचे आरटीआर २०० सँग प्रतिस्पर्धा गर्नेछ ।


