नेपाल आयो इलेक्ट्रीक कन्टेनर, यस्तो छ मूल्य

काठमाडौं । जेम्स ग्रिन इलेक्ट्रो मोविलिटी सर्भिस प्रालिले नेपालमा नै पहिलो पटक इलेक्ट्रीक कन्टेनरको आयात सुरु गरेको छ । विद्युतीय सवारी साधन विक्री गर्दै आएको जेम्सले पहिलो पटक विद्युतीय कन्टेनर नेपाल ल्याएको हो ।

विशेषत सहरी क्षेत्रमा सुरक्षित सामान ओसार पसार गर्न मिल्ने ‘न्यू लोङमा’ ब्राण्डको कन्टेनर धेरै किफायती रहेको कम्पनीले जनाएको छ ।

‘सामान ओसार पसार गर्न निकै किफायती र प्रदुषण रहित हुने भएकाले स्वरोजगार युवादेखि व्यवसायीसम्मलाई यी विद्युतीय गाडी फाइदाजनक रहेको छ’, जेम्स ग्रिन इलेक्ट्रो मोविलिटी सर्भिसका बिजनेश डेभलपमेन्ट म्यानेजर रबिन्द्र श्रेष्ठले मेरोअटोसँग भने ।

श्रेष्ठका अनुसार यो कन्टेनरलाई एक पटकको फुल चार्जमा २२५ किलोमिटरसम्म चलाउन सकिन्छ । १ हजार ६५ केजीसम्म सामान एकपटकमा बोक्न सक्ने यो कन्टेनरमा ४० किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री दिइएको छ । यसलाई सामान्य घरायसी बिजुलीदेखि फास्ट चार्जरको सहायतले चार्ज गर्न सकिन्छ ।

कन्टेनरमा पीक पावर ६० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ । ४७७० एमएम लम्बाई, १६७७ एमएम चौडाई र २४७० एमएम उचाई रहेको यो कन्टेनरमा चालक र अर्को एक जनाको लागि आरामदायी सिट, एसी, हिटर, रिभर्स पार्किङ क्यामेरा, रिमोर्ट लक, पावर स्टेरिङ, पावर विन्डो जस्ता फिचर दिएको छ ।

यो कन्टेनर ग्यास बाहेक अन्य खाद्यान्न, फलफुल, तरकारी, पानी, लताकपडा जस्ता बस्तुको ओसार पसारमा उपयोगी हुने कम्पनीको दावी छ ।

उपत्यकामा एक शोरुम र तीन सर्भिस सेन्टर तयार पारेको जेम्स ग्रिन इलेक्ट्रो मोविलिटी सर्भिसले बाफलमा शोरुम र सर्भिस सेन्टर संचालन गरेको छ । साथै, सर्भिसको लागि नख्खीपोर्ट र धुम्बाराहीमा सर्भिस सेन्टर संचालनमा ल्याएको छ ।

कम्पनीले यो विद्युतीय कन्टेनरको मूल्य ३७ लाख ७५ हजार निर्धारण गरेर विक्री सुरु गरेको बिजनेश डेभलपमेन्ट म्यानेजर श्रेष्ठले जानकारी दिए ।


Back_to_top