माइक्रोबसको परिभाषा बदल्दै इलेक्ट्रीक भ्यान, खर्च कम कमाई धेरै

काठमाडौं । माइक्रोबस उपत्यकाका सडकमा गुड्न थालेको करिब २५ वर्ष भइसकेको छ । सुरु सरकारले विक्रम ट्याम्पो हटाएर जापानी र कोरियन माइक्रो चलाउन थालेसँगै नेपालमा माइक्रो बस चढ्ने कल्चर सुरु भएको हो ।

साँघुरा बाटा भएका र सहरी बाटोमा चलाउन ल्याइएका यस्ता माइक्रो बस विस्तारै लामो रुटमा समेत चल्न थाले । विशेषगरी टोयोटाले सुरुमा ल्याएको हायसको ठूलो मोडल जम्बो हायस ल्याएसँगै माइक्रो बसको लामो यात्रा सुरु भएको हो ।

दिगो ग्रुपले विगत २/३ वर्षदेखि चिनियाँ कम्पनी डिएफएसकेले उत्पादन गरेको डाँफे मोडल नेपाल ल्याएर विक्री गर्दै आएको छ । दिगो ग्रुपले हाइवेका विभिन्न स्थानमा चार्जिङ स्टेशन समेत निर्माण गरिरहेको छ ।

अहिले माइक्रो बस काठमाडौंबाट  पूर्वका  अधिकांश  जिल्लादेखि पश्चिमका पनि धेरै जिल्लामा  सिधा चल्दै आएका छन् । ११ देखि १९ जनासम्म बसेर यात्रा गर्न मिल्ने यस्ता माइक्रोबस यात्रुको पनि रोजाईमा पर्दै आएका छन् । चाँडै भरिने र छिटो यात्रा गराउने भएकै कारण माइक्रोबस यात्रुहरुको रोजाईमा पर्दै आएको ब्यवसायीहरु बताउँछन् ।

अहिले टोयोटा, निसान, फोटोन, फाेर्स जस्ता ब्राण्डले विक्री गर्दै आएको माइक्रोबसको मूल्य ५० लाखदेखि १ करोड रुपैयाँसम्म पर्न थालेका छन् । यत्रो लगानी गरेर माइक्रो चलाउँदै आएका व्यवसायीहरुलाई इलेक्ट्रीक माइक्रोबसले तान्न थालेको देखिन्छ ।

अहिले बजारमा दिगो ग्रुप र चौधरी ग्रुपले ११ सिट क्षमताको माइक्रोबस विक्री वितरण गर्दै आएका छन् । दिगो ग्रुपले विगत २/३ वर्षदेखि चिनियाँ कम्पनी डिएफएसकेले उत्पादन गरेको डाँफे मोडल नेपाल ल्याएर विक्री गर्दै आएको छ । दिगो ग्रुपले हाइवेका विभिन्न स्थानमा चार्जिङ स्टेशन समेत निर्माण गरिरहेको छ ।

चौधरी ग्रुप अन्तर्गत सिजी मोटरले नेपाल ल्याएको चांगन कम्पनीको केवाईसी भी–५ मोडल पनि ११ सिट क्षमताको इलेक्ट्रीक माइक्रोबस हो । कम्पनीले यसको १४ सिटर भेरियन्ट पनि नेपालमा विक्री गर्दै आएको छ ।

लगानी हिसावले ४२ देखि ४५ लाख भित्रै पर्ने यी दुबै माइक्रोबस प्रतिकिलोमिटर २ रुपैयाँभन्दा कम लागतको इन्धनले यात्रा गर्न सकिने भएको कारण लामो दुरीमा समेत चल्न थालेका हुन् । बजारमा यी दुबै माइक्रोबसको माग बढ्न थालेसँगै हामीले यी दुई मोडल बीच रहेको भिन्नता केलाउने प्रयास गरेका छौं ।

ब्याट्री क्षमता र रेन्ज
दिगो डाँफे मोडलमा सिएटीएलले उत्पादन गरेको ४२ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री दिइएको छ । यसलाई ४० किलोवाट आवरको फास्ट चार्जरले चार्ज गर्दा १ घन्टा ३० मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिने कम्पनीले दावी गरेको छ । एक पटकको फुल चार्जमा डाँफेलाई २५० किलोमिटरसम्म चलाउन सकिने कम्पनीले जनाएको छ । एनइडीसीले भने यसले सिंगल चार्जमा ३०० किलोमिटर रेन्ज दिने प्रमाणित गरेको छ ।

सिजी मोटर्सले नेपालमा विक्री गर्दै आएको चांगनको केवाईसी भी–५ मोडलमा पनि ४२ किलोवाट आवरकै सिएटीएल ब्याट्री दिइएको छ । यसलाई फुल चार्जमा ३०० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ । यसले पनि फास्ट चार्जर सपोर्ट गर्नेछ ।

चालकलाई सहज

हाइवे होस् वा सहरी क्षेत्र अटोमेटीक गाडी चलाउन निकै सहज हुन्छ । इलेक्ट्रीक गाडीमा गियरबक्स नहुँने हुँदा यसलाई चलाउन निकै सहज हुन्छ ।

दिगो डाँफे रियर ह्वील ड्राइभ सिस्टम भएको माइक्रोबस हो । यसमा १८८ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।
चांगन केवाईसी भी–५ पनि ११ जनाले यात्रा गर्न मिल्ने अटोमेटीक माइक्रोबस हो । चलाउन निकै सहज यो माइक्रोबसमा १७५ एमएमको ग्राउन्ड क्लियरेन्स, १०० किलोमिटर प्रतिघन्टाको स्पीड पाउन सकिन्छ ।

दुबै गाडीमा लगभग एउटै फिचर भएका हुन् । दुबै मोडलमा अगाडि डिस्क र पछाडि ड्रम ब्रेक पाउन सकिन्छ । पावर स्टेरिङ, ईबीडीको साथमा दिइएको एबीएस, हिल एसिस्ट कन्ट्रोल, रिभर्स क्यामेरा, एसी, हिटर, रिजेनेरेटीभ ब्रेकिङ सिस्टम छन् । जसले चालकलाई निकै सहज बनाउने छ ।

मूल्य र मासिक किस्ता
सिजी मोटर्सले ११ सिट क्षमताको केवाईसी भी–५ माइक्रोबसको मूल्य ४२ लाख ५० हजार निर्धारण गरेर विक्री गर्दै आएको छ । केवाईसी भ्यान किनेर यातायात ब्यवसाय गर्न चाहने कम्पनीले ८ लाख ५० हजार रुपैयाँ डाउन पेमेन्ट वापत खर्च गर्नुपर्छ भने बाँकी ३४ लाख रुपैयाँ कर्जा लिन सक्ने छन् । यसरी लिएको कर्जामा अहिले १३ प्रतिशत हाराहारी ब्याज लाग्छ भने ७ वर्ष भित्र किस्ता भुक्तान गर्नु पर्ने हुन्छ । केवाईसी भ्यान चलाउनेले मासिक ६२ हजार रुपैयाँ किस्ता तिर्नु पर्ने हुन्छ ।

दिगोले डाँफे ११ सिटर भ्यानको मूल्य ४४ लाख ९५ हजार रुपैयाँ निर्धारण गरेर विक्री गर्दै आएको छ । बैंकबाट कर्जा लिएर डाँफे किन्दा सुरुमा २० प्रतिशतले हुन आउने ८ लाख ९९ हजार रुपैयाँ ब्यवसाय गर्न चाहने मानिसले लगानी गर्नु पर्छ । डाउन पेमेन्टपछि बाँकी ३५ लाख ९६ हजार रुपैयाँ ७ वर्षको लागि बैंकबाट १३ प्रतिशत ब्याजदरमा कर्जा लिने हो भने मासिक ६५ हजार ५ सय रुपैयाँ किस्ता तिर्दा पुग्छ ।

 वारेन्टी
 वारेन्टीको हिसावले सिजी निकै उदार देखिएको छ । कम्पनीले केवाईसीको भी–५ मोडलमा २ लाख किलोमिटर वा ५ वर्ष जुन पहिला आउँछ त्यही वारेन्टी प्रदान गर्ने जनाएको छ । दिगोले भने डाँफे मोडलमा १ लाख २० हजार किलोमिटर वा ५ वर्ष मध्ये जुन पहिला आउँछ, त्यही वारेन्टी भनेको छ । लामो दुरीमा चलाउने हुँदा यस्ता माइक्रोबस धेरै किलोमिटर गुड्ने छन् ।


Back_to_top