नेपालमा इलेक्ट्रीकको धक्का टर्बो इन्जिनलाई, बजार नै नपाई मर्ने अवस्था

काठमाडौं । नेपालमा पेट्रोल कारमा टर्बो इन्जिन खासै सफल मानिदैन । बजारमा जम्नको लागि संघर्ष गरिरहेको टर्बो इन्जिनको अस्थित्व नै संकटमा पर्ने देखिएको छ । टर्बो चार्ज्ड इन्जिनलाई अफ्ठ्यारोमा पार्ने काम विद्युतीय साधनले गरेको हो ।

स्विजरल्याण्डका इन्जिनियर अल्फ्रेड बुचीले सन् १९०५ मा पहिलो पटक टर्बो इन्जिनको प्याटेन्ट दर्ता गरे भने यसको प्रयोग सन् १९२३ मा पहिलो पटक भएको थियो । डिजेल र पेट्रोल इन्जिन भएका गाडीको पावर वृद्धि गर्न प्रयोग भएको टर्बो इन्जिन विश्व बजारमा निकै सफल मानिन्छ ।

पहिलो पटक टर्बो चार्जरको प्रयोग पानी जहाजको इन्जिन गरिएको थियो । यसले जहाजको नेचुरल्ल एस्पीरेडेड इन्जिनबाट आउने १७५० हार्सपावरबाट बढाएर २५०० हर्सपावर बनाएको थियो । योसँगै यसको प्रयोग तिब्र भएको थियो ।

पहिलो विश्वयुद्धमा लडाकु जहाजमा व्यापक प्रयोग भएसँगैसन् १९६३ बाट मात्रै गाडीमा यसको प्रयोग भएको हो । अमेरिकी कम्पनी सेभ्रोलेले सबैभन्दा पहिला यसको प्रयोग गरेको हो ।

गाडीमा भएको इन्जिनले एयर फिल्टरको सहायताले हावा तान्ने र उक्त हावा कम्बस्चन चेम्बरमा गएर इन्धन जलाउन सहयोग गर्छ । त्यही हावाको चाप बढाउन टर्बो चार्जर प्रयोग गरिन्छ । टर्बो चार्जरको सहयोगले हावाको चाप बढाई इन्धन सहजै जल्ने र धेरै पावर उत्सर्जन गर्न टर्बो इन्जिनको प्रयोग भएको हो ।

डिजेल इन्जिनमा यसको प्रयोग भने सन् १९७८ मा मर्सिडिजले गरेको थियो । अहिले पनि यूरोपमा बिक्ने ७० प्रतिशत सवारीसाधनमा टर्बो चार्जर जडित हुने अनुमान गरिएको छ । नेपालमा पनि फाटफुट्ट बाटोमा टर्बो चार्जर जडित गाडी देखिन थालेका छन् । त्यसमा फक्सवागेन, स्कोडा लगायत ब्राण्डले धेरै र अन्य कम्पनीले एकाध मोडल टर्बो इन्जिनमा ल्याएका छन् ।

फोर्ड इको स्पोर्ट सन् २०१३ मा नेपाल आउँदा १.० लिटर टर्बो चार्ज्ड इन्जिनमा आउको थियो । तर, बजारमा सोचेजस्तो रेस्पोन्स नपाएपछि यसको विक्री बन्द भएको थियो । त्यसपछि क्रमशः अन्य ब्राण्डले साना कार र एसयूभीहरु पनि टर्बो इन्जिनमा ल्याएका थिए । बजारमा टर्बो इन्जिन उपलब्ध भएपनि यसलाई विद्युतीय कारले पछाडि पार्न लागेको सहजै अनुमान गर्न सकिन्छ ।

पावर र पर्फमेन्सको हिसावले कार किन्ने मानिसको लागि विद्युतीय कार पहिलो रोजाईमा पर्न थालेको छ । अहिले नेपालमा सबैभन्दा धेरै उपलब्ध १.० लिटर र १.२ लिटर क्षमताको टर्बो इन्जिन रहेका छन् । यस्ता इन्जिनको अधिकतम पावर १०० पीएसदेखि १३० पीएससम्म रहेको छन् । तर, त्यही सेग्मेन्टमा उपलब्ध ईभीले १३६ देखि १६० पीएस पावर प्रदान गर्ने भएको कारण धेरैले ईभी नै रोज्नेछन् ।

ईभीमा दिइएको लिथियम आयोन ब्याट्री निकै चाँडो शक्ति प्रदान गर्न सक्ने, उच्च टर्क प्रदान गर्ने र इन्ट्याण्ड टर्क दिने भएको कारण कुनै पनि इन्जिनको तुलनामा उत्कृष्ट पर्फमेन्स दिन सक्ने किसिमका हुन्छन् । त्यसैले टर्बो इन्जिनको विकल्पमा धेरै मानिसले विद्युतीय कार छनोट गर्नेछन् ।

अहिले नेपालमा विद्युतीय कारको विक्री टर्बो इन्जिन भएका कारको तुलनामा निकै धेरै छ । टर्बो इन्जिन नेपाली कार बजारमा बलियोसँग स्थापित नहुँदै बन्द हुने अवस्थामा पुगेको हो । विश्व बजारमा पनि टर्बो इन्जिनको भविष्यलाई लिएर धेरै किसिमका टिप्पणी हुन थालेका छन् । सर्वाधिक टर्बो इन्जिन विक्री हुने युरोपमा ईभीको वृद्धि उच्च हुनु, कारको सबैभन्दा ठूलो बजार चीन र भारतको रोजाईमा टर्बो इन्जिन नपर्नुले यसको भविष्य अन्योलतातर्फ गएको हो ।


Back_to_top