पुसको जाडोमा मोटरसाइकल छाडेर कार किन्न खोज्नेलाई उपयुक्त ७ कार (मूल्यसहित)

काठमाडौं । पुस महिनाको जाडोमा मोटरसाइकल छाडेर कम मूल्यको नयाँ कार किन्न खोज्नेलाई विभिन्न कम्पनीले विक्री गर्दै आएका ७ वटा कार उपयुक्त हुन सक्छन् । उसोत नेपालमा उपलब्ध कारमा सरकारले लगाउँदै आएको करको कारण सबैभन्दा सस्तो मोडलको नै १९ लाख हाराहारी पर्ने गर्छ ।

अहिले नेपालमा विक्री वितरण हुने कारमा सबैभन्दा कम मूल्यको कार मारुती सजुकी अल्टो रहँदै आएको छ । ट्याक्सीको रुपमा धेरै विक्री हुँदै आएको अल्टोको सुरुवाती भेरियन्ट १८ लाख ९९ हजारमा किन्न सकिने नेपाल कै सबैभन्दा सस्तो कार हो ।

मारुती सुजुकी अल्टोमा ७९६ सीसी क्षमताको इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ६००० आरपीएममा ४० बीएच पावर र ३५०० आरपीएममा ६० एनएम टर्क प्रदान गर्ने छ ।

नेपालमा उपलब्ध अर्को सस्तो कारपनि मारुती सुजुकी कै एसप्रेसो रहेको छ । कम्पनीले फर्ष्ट एसयूभी भन्दै विक्री गरिरहेको एसप्रेसोको सुरुवाती भेरियन्टको मूल्य २३ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

एसप्रेसोमा कम्पनीले ९९८ सीसी क्षमताको इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ५५०० आरपीएममा ६७ बीएच पावर र ३५०० आरपीएममा ९० एनएम टर्क प्रदान गर्छ ।

हुन्डाई सेन्ट्रो अर्को कम मूल्य भएको कार हो । सेन्ट्रोको सुरुवाती भेरियन्ट इराको मूल्य २३ लाख ९६ हजार रुपैयाँ रहेको छ । सेन्ट्रो नेपालमा धेरै रुचाइएको मोडल पनि हो ।

हुन्डाईले सेन्ट्रोमा १०८६ सीसी क्षमताको इन्जिन दिएको छ । कम मूल्यमा फोर सिलिण्डर इन्जिन प्रयोग भएको सेन्ट्रोले अधिकतम ५५०० आरपीएममा ६८ बीएच पावर र ४५०० आरपीएममा ९९ एनएम टर्क प्रदान गर्छ ।

सेन्ट्रोको जतिनै समान मूल्य भएको अर्को कार हो डाट्सन रेडी गो । रेडी गोको मूल्य २३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । अहिले रेडी गोको फेसलिफ्ट मोडल विक्री भइरहेको छ ।

रेडी गोमा ९९९ सीसी क्षमताको इन्जिन दिइएको छ । उक्त इन्जिनले ५५०० आरपीएममा ६७ बीएच पावर र ४२५० आरपीएममा ९१ एनएम टर्क प्रदान गर्छ ।

रेनोले नेपालमा विक्री गर्दै आएको क्वीड अर्को कम मूल्यको कार हो । तर, यसको मूल्य रेडी गोको तुलनामा एक लाख रुपैयाँले महंगो रहेको छ । यसलाई कम्पनीले २४ लाख ९९ हजार रुपैयाँ मूल्य निर्धारण गरेर विक्री गर्दै आएको छ ।

रेनो क्वीडमा पनि ९९९ सीसी क्षमताको इन्जिन दिइएको छ । उक्त इन्जिनले ६७ बीएच पावर र ९१ एनएम टर्क प्रदान गर्छ । यसमा डाट्सन रेडी गोकै इन्जिन यसमा पनि रहेको छ ।

नेपाली बजारमा उपलब्ध दुई इलेक्ट्रीक कार पनि मोटरसाइकल छाडेर कम मूल्यको नयाँ कार किन्न खोज्ने ग्राहकको रोजाईमा पर्न सक्छ । अहिले नेपाली बजारमा उपलब्ध दिगो इ८ को मूल्य २४ लाख ९४ हजार र डेरी इभी७ को मूल्य २५ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

यी दुबै कारले एक पटकको फुलचार्जमा १५० किलोमिटर रेञ्ज प्रदान गर्ने विक्रेता कम्पनीहरुको दाबी रहेको छ ।


Back_to_top