इलेक्ट्रीक कार टेस्लाका मालिक एलन मस्क विश्वकै पहिलो ट्रिलेनियर बन्ने बाटोमा

काठमाडौं । अर्बपति लगानीकर्ता चमाथ पालिहापिटियाले टेस्ला कम्पनीको सेयर अझै तीन गुणा बढ्ने बताएका छन् । उनका अनुसार हालै विश्वको सबैभन्दा धनी भएका टेस्लाका प्रमुख कार्यकारी एलन मस्क विश्वकै पहिलो ट्रिलिनियर बन्न सक्नेछन् ।

‘टेस्लाको सेयर नबेच्नुस्’, पालिहापिटियालले सीएनबीसीलाई अन्तर्वार्ता दिँदै भनेका छन् । उनले सामान्य लगानीकर्तालाई तत्कालीन नाफाको पछि नलाग्ने र विश्वलाई अझ बस्न लायक बनाउन तल्लिन मस्क लगायत उनी जस्तै अन्य उद्यमीहरुको पछि लाग्न सुझाव दिएका छन् ।

‘म कुरा बुझ्दिन मानिसहरु किन यति राम्रो सेयर बेच्न हतारिन्छन्,’ सोसल क्यापिटलका प्रमुख कार्यकारी पालिहापिटियाल भन्छन्, ‘सबै राम्रै भइरहेका बेला हामी आफूले के गरिरहेको छु भनेर राम्रोसँग बुझ्ने मान्छेसँगै बस्नुपर्छ । र, मस्क त्यस्ता मानिस हुन् जो पछिल्लो समय लगातार विश्वको सबैभन्दा महत्वपूर्ण उद्यमी रहिरहेका छन् । त्यसैले उनी विरुद्ध किन जाने ?’

मस्कले हिजो बिहीबार विश्वकै धनी मानिसका रुपमा अमेजोनका जेफ बेजोसलाइ उछिनेका छन् । हिजो टेस्लाको सेयर ६.९ प्रतिशतले बढेर प्रति कित्ता ८०८.६९ डलर पुगेको थियो । त्यस हिसाबले उनको कुल सम्पत्ति हाल १८६ अर्ब डलर रहेको छ ।टेस्लामा मस्कको २० प्रतिशत सेयर छ भने अर्को कम्पनी स्पेस एक्समा उनको ४८ प्रतिशत सेयर छ ।

पालिहापिटियालका अनुसार टेस्ला ऊर्जा व्यवसाय हो । मस्क उर्जा उत्पादन, स्टोर प्रयोगमा केन्द्रित हुँदै मानिसहरुलाई जलवायु परिर्वतनसँग लड्न सघाउँदै आएको उनको दाबी छ ।

‘मैले केही समयअघि ट्वीट पनि गरेको थिएँ कि विश्वको पहिलो ट्रिलिनियर जलवायुसँग लड्ने मानिस नै हुन्छन्,’ पालिहापिटियाल भन्छन्, ‘मस्क नै त्यो मानिस हुने संभावना प्रबल छ । यदि उनी भएनन् भने पनि उनी जस्तै अर्को कोहि हुनेछन् । स्वच्छ उर्जा प्रवाह गर्ने र विश्वलाई दिगो बनाउन मद्दत गर्ने व्यक्तिलाई बजार र लगानीकर्ताले पुरस्कृत गर्नेछन् ।’

पालिहापिटियालका अनुसार उर्जा सम्बन्धी व्यवसाय गति लिने संघारमा उभिएको छ । ठूलो धनराशी ऊर्जा उत्पादन गर्ने पूर्वाधारमा प्रयोग हुनका लागि संचित भएर बसेको छ । जब त्यो पैसा लगानी हुन थाल्छ तब टेस्ला कम्पनी दुईदेखि तीन गुणा ठूलो हुने उनको बुझाइ छ ।


Back_to_top