काठमाडौं । तीन वर्ष अघिसम्म नेपालमा २० लाखभन्दा कम मूल्यमा मारुती सुजुकी अल्टो, डाट्सन रेडी गो, रेनो क्वीड, हुन्डाई इयोन जस्ता मोडल ग्राहकले खरिद गर्न सक्थे ।
हुन्डाई इयोनको उत्पादन बन्द भएर इन्ट्री लेवलमा सेन्ट्रोको आगमनसँगै हुन्डाईको सस्तो मूल्यको कार नै करिब २४ लाख रुपैयाँ पर्ने भएको छ । यसअघि रेडी गो र रेनो क्वीडमा ८०० सीसी क्षमताको इन्जिन रहेको थियो । यी दुबै कम्पनीले अहिले ८०० सीसी क्षमताको इन्जिन भएका रेडी गो र क्वीडको आयात बन्द गरेसँगै २० लाखभन्दा कम मूल्यमा कार बजारमा पाइनै छाडेको छ ।
अहिले बजारमा मारुती सुजुकी अल्टोको स्टायडर्ड भेरियन्ट मात्रै २० लाखभन्दा कम मूल्यमा किन्न सकिन्छ, यसको अन्य भेरियन्टको कार किन्न चाहनेले २३ लाखसम्म खर्च गर्नु पर्ने अवस्था रहेको छ । यसले गर्दा थोरै रकममा सानो नयाँ कार किन्ने सोच बनाएका ग्राहकको पहुँच बाहिर कार पुगेको छ ।
नेपाल सरकारले लगाउने कर, सुरक्षा फिचरमा भएको बढोत्तरी र पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएको स्टील, प्लाष्टिक लगायतका कच्चा पदार्थको मूल्य वृद्धिको असरले अझै कारहरु महंगो हुँदै गएका छन् ।
नेपालमा कार महंगो हुनुको मुख्य कारण सरकारले लगाउने कर हो । नेपाल सरकारले सबै किसिमका कारमा ८० प्रतिशत भन्सार, ८० प्रतिशतसम्म अन्तःशुल्क लगाउँदै आएको छ । तर, १००० सीसीसम्मका कारमा भने ८० प्रतिशतसम्म भन्सार, ४० प्रतिशत अन्तःशुल्क, १३ प्रतिशत मूल्यअभिवृद्धि कर, ७ प्रतिशत सडक निर्माण दस्तुर लगाउँदै आएको छ । यसले गाडीको खरिद मूल्यको तुलनामा विक्री मूल्य तेब्बरभन्दा पुग्न गइरहेको छ ।
नेपाल आयात हुने कार ९२ प्रतिशतभन्दा बढी भारतबाट आयात हुने गरेको छ । पछिल्ला ३ वर्षमा भारत सरकारले प्रदुषण मापदण्ड र सुरक्षा मापदण्डमा व्यापक परिमार्जन गरेको कारण गाडीको उत्पादन लागत बढ्न गएको हो । भारत सरकारले लगाएको नयाँ सुरक्षा मापदण्डले कारमा अनिर्वाय एबीएस, इबीडी, दुई एयरव्याग जस्ता फिचर हुनु पर्ने भनेको छ । यसले पनि गाडीको लागत बढ्न गएको हो ।
सन् २०२० अप्रिलबाट अनिर्वाय भएको नयाँ प्रदुषण मापदण्डले कारको मूल्यमा ५ देखि १० प्रतिशतसम्म मूल्य बढाएको छ । बीएस ६ मापदण्डका कार नेपाल आउन थालेसँगै मूल्यपनि बढ्न थालेको हो । त्यसैले यसअघि २० लाखभन्दा कम मूल्यमा पाउने कारहरुको मूल्य अहिले २३/२४ लाख रुपैयाँ पुगेको छ ।
सन् २०२१ मोडलको उत्पादन नेपाल आउन थालेको छ । विभिन्न कम्पनीले आफ्नो मूल्य परिमार्जन गर्न थालेका छन् । यसले ग्राहकलाई अझै आर्थिक भार थप्ने छ ।


