काठमाडौं । भारतको मुम्बाईमा रहेको स्टार्टअप कम्पनी स्ट्रोम मोटर्सले आफ्नो पहिलो इलेक्ट्रीक कार ‘स्ट्रोम आर थ्री’ बजारमा ल्याउने भएको छ । कम्पनीले ल्याउने आफ्नो पहिलो कार निकै सस्तो हुने जनाएको हो ।
यद्यपी झट्ट हेर्दा पूर्णत चार पाङ्ग्रे कार जस्तै देखिएपनि यो तीन पाङ्ग्रे इलेक्ट्रीक कार हो । यसको भारतमा बुकिङ भइरहेको छ । यसलाई विभिन्न तीन भेरियन्ट आर थ्री प्योर, आर थ्री करेन्ट र आर थ्री बोल्टमा ल्याइएको छ ।
यसको लम्बाई २९०७ एमएम, चौडाई १४५० एमएम र उचाई १५७२ एमएम रहेको छ । यसको कुल तौल ५५० केजी रहेको छ । अगाडि १०० लिटर र पछाडि ३०० लिटरको बुट स्पेश दिइएको यसमा गोलो आकारको हेडल्याम्प, आकर्षक ग्रिल, स्लोपिङ बोनेट, गोलो ह्वील आर्क र आकर्षक डिजाइनको रुफलाइन दिइएको छ ।
१३ इन्चको अलोय ह्वील, २ जना यात्रुले यात्रा गर्न मिल्ने सिट क्षमता, दुई वटा ढोका, १२ प्रकारले मिलाउन मिल्ने ड्राइभर सिट, ४.३ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, ७ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, २० जीवी अन बोर्ड म्यूजिक स्टोरेज यसमा रहेको मूख्य विशेषता हो ।

कम्पनीले स्ट्रोम आर थ्रीमा १५ किलोवाटको मोटर दिएको छ । यसले २० हर्सपावर र ९० एनएम पिक टर्क प्रदान गर्छ । यसमा लिथियम आयोन व्याट्री दिइएको छ । ८० किलोमिटर प्रतिघन्टाको स्पीडमा कुद्न सक्ने यो तीन पाङ्ग्रे कारमा रहेको व्याट्रीलाई फुल चार्जगर्दा २०० किलोमिटर गुडाउन सकिने कम्पनीको दाबी छ ।
यसको ४ लाख ५० हजार भारतीय रुपैयाँ मूल्य अर्थात् ७ लाख २० हजार नेपाली रुपैयाँ तोकेर विक्री सुरु गरिएको हो ।


