काठमाडौं । जर्मन ब्राण्ड फक्सवागनले कम मूल्यका विद्युतीय कार खोज्नेलाई केन्द्रमा राखेर सानो इन्ट्री लेभल कार बजारमा ल्याउने भएको छ । कम्पनीका सीइओ राफेल ब्राण्डेस्टरले कम्पनीले आईडी रेञ्जमा सबैभन्दा कम मूल्यको विद्युतीय कार ल्याउने बताएका हुन् ।
फक्सवागनले इलेक्ट्रीक कारहरुको नाम आइडी सिरिजमा राख्दै आएको छ । यस्तोमा कम्पनीले ल्याउने नयाँ इलेक्ट्रीक कारको नाम आइडी-१ र आईडी-२ सिरिज अनुसार नै रहने राफेलले जनाएका छन् ।
कम मूल्यमा बजारमा उतार्ने सानो एसयूभी र ह्याचव्याक उत्पादन गर्न कम्पनीले नयाँ ‘एमइबी-लाइट’ प्ल्याटफर्म तयार गरेको छ । जसमा साना ह्याचव्याक र एसयूभी निर्माण हुने छ ।
कम्पनीले हरेक वर्ष नयाँ मोडल उत्पादन थप गर्दै लाने योजना अनुरुप विभन्न मोडलको घोषणा गर्दै आएको छ । कम्पनीले ल्याउने सानो इलेक्ट्रीक ह्याचव्याक पोलोको डिजाइनमा आधारित रहने अनुमान गरिएको छ भने एसयूभी टि-क्रसमा आधारित रहने छ ।
अहिले फक्सवागनले आईडी ३ ह्याचव्याक र आईडी ४ एसयूभी अन्तर्राष्ट्रिय बजारमा विक्री गर्दै आएको छ । नयाँ आउने सानो र कम मूल्यको एसयूभी तथा ह्याचव्याकमा कस्ता फिचर उपलब्ध रहने छन् भन्ने विषयमा अहिले केहि खुलाईएको छैन ।


