विश्वकै सानो कार चार्जर नेपालमा, यस्तो छ मूल्य र विशेषता

काठमाडौं । विद्युतीय कार चार्ज गर्न प्रयोग हुने विश्वकै सबैभन्दा सानो चार्जर ‘ईओ मिनी’ नेपाल आएको छ । नेपाली बजारमा यसलाई पारामाउन्ट मोटर्सले ल्याएको हो ।

एमजी गाडीको आधिकारीक विक्रेता पारामाउन्टले बेलायती ब्राण्ड ईओ मिनी नेपाल ल्याएर विक्री सुरु गरेको छ । विशेषत ६ एम्पीयरदेखि ३० एम्पीयरसम्मको मिटर भएका घरमा यसलाई जडान गरेर प्रयोग गर्न सकिने छ । ७.५ किलोवाट क्षमताको यो चार्जर घरमा रहेको पावर क्षमता अनुसार एड्जस्ट गर्न मिल्नेछ ।

सन् २०१४ मा स्थापना भएको ईओ ब्राण्डका उत्पादन अहिले विश्वभर चर्चामा छन् । कम्पनीका उत्पादनलाई विश्व चर्चित ब्राण्ड अमेजोन, डिएचएल र टेस्को जस्ता फ्लीट अपरेटरहरुले प्रयोग गर्दै आएका छन् । यो ब्राण्ड अहिलेसम्म विश्वका ३५ भन्दा धेरै देशमा विक्री वितरण हुँदै आएको छ ।

विश्व प्रसिद्ध कार निर्माता मर्सिडिज बेञ्चसँग सहकार्य गर्दै आएको इओले यूके, आयरल्याण्ड र स्क्यान्डिनेभियामा सन् २०२१ मा मात्रै ६० हजार स्थानमा चर्जर प्वइन्ट स्थापना गरेको थियो । कम्पनीले निकट भविष्यमा नै कार, भ्यान, ट्रक र बस जस्ता साधनको फ्लीट्स चार्ज गर्ने अग्रणी कम्पनी बन्ने योजना तयार गरेको छ ।

पारामाउन्ट मोटर्सले यसलाई नेपाली बजारमा ८५ हजार मूल्य निर्धारण गरेर विक्री सुरु गरेको छ । साथै, चार्जरमा एक वर्षको वारेन्टी समेत प्रदान गरेको छ । नेपालमा उपलब्ध सीसीएस २ चार्जिङ पोर्ट भएका सबै किसिमका गाडीलाई एसले चार्ज गर्न सक्नेछ ।


Back_to_top