तातोपानी नाका अनिश्चितकालका लागि बन्द

काठमाडौं । चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द भएको छ ।

चीनको खासा र न्यालम बीचको जंगल क्षेत्रमा भीषण डढेलो लागेपछि चिनियाँँ प्रशासानले नाकाबाट हुने सम्पूर्ण आवतजावतमा पूर्ण रोक लगाएको हो ।

डढेलो तीव्र गतिमा फैलिरहँदा सुरक्षा जोखिम बढेकाले स्थानीय, पर्यटक, मालबाहक सवारीसाधन सबैको आवतजावत ठप्प पारिएको छ ।

तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालले सोमबारदेखि नै चिनियाँ प्रशासानले नाका बन्द गरेको जानकारी दिए ।

उनले अहिले पनि डढेलो फैलिँदो क्रममा रहेको बताइकाले कहिलेसम्म नियन्त्रणमा आउँछ भन्ने एकीन जानकारी नआएको बताए ।

‘खासा र न्यालम बीचको जंगलमा आइतबार रातिदेखि ठूलो आगो लागेको भन्ने खबर आएको छ । सोही कारण हिजोदेखि नै नाका बन्द । सम्भवतः आगलागी नियन्त्रणमा नआएसम्म नाका खुल्ने देखिँदैन,’ उनले मेरोअटोसँग भने ।

उनले जंगलमा लागेको आगोले चीनतर्फको आकाश धुँवाले ढाकिएको र खरानी नेपालतर्फको भन्सार यार्ड, लिपिङ लगायत क्षेत्रसम्म आइपुगेको उनले बताए । सामान आयात बन्द भए पनि भन्सार कार्यालय भने खुलै रहेको उनले बताए ।

नाका बन्द भएसँगै चीनबाट सामान आयात प्रभावित भएको छ । सामान लिन गएका दर्जनौं कन्टेनर चीनतर्फ रोकिएका छन् । नाका कहिले खुल्ने भन्ने टुंगो नलाग्दा आयातकर्ता थप समस्यामा परेका छन् ।

यसअघि नाका सुचारु हुँदा पनि चिनियाँ पक्षले अस्वभाविक कडाइ गर्दा तातोपानी नाकाबाट माग अनुसारको सामान आउन सकेको थिएन ।


Back_to_top