कसरी गर्ने ईभीमा लामो यात्रा ? गर्नुहोस् ३ काम

काठमाडौं । अहिले नेपालमा बिक्री हुँदै आएको ईभीहरुले ४५० किलोमिटरसम्म रेन्ज दिन्छन् । अहिले बजारमा उपलब्ध बीवाइडी इ सिक्स सबैभन्दा धेरै रेन्ज दिने गाडी हो । यसले सिंगल चार्जमा ४५० किलोमिटर रेन्ज दिन्छ ।

त्यसपछि एमजी जेडएस लङ रेन्ज, बीवाइडी एटो थ्री, किया निरो, हुन्डाई कोना लङ रेन्ज जस्ता मोडलले ४ सय किलोमिटर रेन्ज दिन्छन् । त्योभन्दा कम आयोनीक फाइभ, जेडएस ईभी स्टायण्डर्ड भेरियन्ट, नेटा भी, कोना ईभीले ३ सय किलोमिटर माथि रेन्ज दिन्छन् ।

२५० किलोमिटर रेन्ज दिने टाटा नेक्सन नेपालमा सबैभन्दा सफल ईभी रहेको छ । यी गाडी सहरी क्षेत्र र हाइवे दुबै बाटोमा चलाउन उपयोगी मानिन्छन् । सहरी क्षेत्रको लागि भने साना मिनी कार पनि इलेक्ट्रीकमा उपलब्ध छन् । बजारमा विलिङ एयर मिनी, हेनरी जस्ता साना कार पाउन सकिन्छ ।

यदि तपाई काठमाडौंबाट पूर्व वा पश्चिमको यात्रामा निस्कदै हुनुहुन्छ या पूर्व–पश्चिम यात्रामा निस्कने सोच्दै हुनुहुन्छ ? त्यसो हो भने केही कुराको योजना पहिल्यै गर्नु पर्ने हुन्छ । यदि सुरुमै योजना बनाएर यात्रा गर्ने हो भने बीचमा समस्या आउने सम्भावना निकै कम हुन्छ ।

१. चार्जिङ म्यापः अहिले प्राधिकरणले निर्माण गरेको ५१ स्थानको चार्जर सबैभन्दा उपयोगी बन्दै गएका छन् । गाडी बिक्रेताले जडान गरेको चार्जरमा एकले अर्कालाई पूर्ण रुपमा प्रयोग गर्न दिइसकेका छैनन् । त्यसैले सबै गाडीले प्रयोग गर्न पाउने चार्जरको म्याप बनाउनु पर्छ ।

तपाईको गाडीले दिने रेन्ज र चार्जर भएको स्थानको दुरी एकिन गरी करिब २० प्रतिशत चार्ज बाँकी रहँदै चार्जिङ स्टेशनमा पुग्नेरी चार्जिङ प्लान तयार गर्नु पर्छ । त्यसले तपाईको यात्रालाई सहज र सुखद बन्न सहयोग पुग्छ ।

२. सकभर ठूलो चर्जर छनोट गर्नुः अहिले बाटोमा ७ किलोवाटदेखि ६० किलोवाट क्षमताको चार्जर पाइन्छ । ७ किलोवाटको एसी चार्जर हो भने ६० किलोवाटको डिसी फास्ट चार्जर हो । यात्रामा निस्कदा सकभर गाडीले सपोर्ट गर्छ भने ठूलो चार्जर भएको स्थानमा चार्ज गर्नु उपयुक्त हुन्छ ।

नेपाल विद्युत प्राधिकरणले बनाएको चार्जिङ नेटवर्कमा १२० किलोवाटसम्मको चार्जर पाइन्छ । तर, अधिकांश चार्जिङ नेटवर्कमा दुईवटा गाडी चार्जमा राखिएको भेटिन्छ । त्यसैले एउटा गाडीले ६० किलोवाट मात्रै पावर पाउँछ । निजी क्षेत्रले जडान गरेका चार्जर सबै ३० किलोवाट क्षमताका छन् । टाटा, एमजी, बीवाइडी र नेटाले फास्ट चार्जर जडान गर्दै आएका छन् । गाडीको क्षमता अनुसारको चार्जर छनोट समय बचतको लागि महत्वपूर्ण हुन्छ ।

३. समस्या परे जुध्न तयार रहनुस्ः बाटोमा चार्जिङ गर्ने स्थानमा विजुली तत्काल नहुन पनि सक्छ भन्ने कुरा ध्यानमा पहिल्यै राख्नु पर्छ । यदि तपाई पुगेको समयमा बत्ती छैन भने तपाईले कुर्नु पर्ने हुन्छ । नेपालमा विजुलीको गुणस्तर राम्रो छैन । कहिलेकाहिँ पावर तलमाथि हुँदा गाडीको ब्याट्री चार्जमा समस्या आउन सक्छ ।

पावरको कारण गाडीमा समस्या आए स्टार्ट नै नहुनेसम्मको समस्या फेस गर्नु पर्ने हुन्छ । त्यस्तै ईभीमा स्पेयर टायर नहुने हुँदा त्यसको विकल्प पनि सोचेर हिड्न उपयुक्त हुन्छ । ईभी सबैको लागि नयाँ टेक्नोलोजी भएको कारण बीच बाटोमा केही समस्या आए कम्पनीसँगै सम्पर्क गर्नु पर्ने हुन्छ । त्यसैले सधैँ आफुसँग सर्भिसमा काम गर्ने टेक्नीकल मान्छेको नम्बर राख्नु उपयुक्त हुन्छ ।माथि, उल्लेख गरिएका विषयमा तपाई तयार रहनु हुन्छ भने बाटोले साथ दिएको खण्डमा नेपालको कुनैपनि भूभागमा ईभी मार्फत यात्रा गर्न सक्नु हुन्छ । ईभीमा गरिने लामो यात्रा इन्टरनल कम्बस्चनको तुलनामा निकै किफायती हुनेगर्छ ।


Back_to_top