काठमाडौं । विद्युतीय गाडी विक्री गर्ने कम्पनीहरु बीच कडा टक्कर सुरु भएको छ । अहिलेको अवस्थालाई हेर्दा बजारमा सर्वाधिक धेरै बजार हिस्सा एमजीले लिएको छ भने त्यसपछि हुन्डाई, बीवाइडी र टाटा रहेका छन् ।
यद्यपी टाटाले सन् २०२१ को पछिल्लो केही महिना मात्रै नेक्सन इभी ल्याएको थियो । यदि सप्लाईमा समस्या नहुने हो भने सन् २०२२ मा नेक्सन सबैभन्दा अगाडि निस्कन सक्ने मोडल हुने देखिन्छ । त्यसो त एमजी इजेडएस पनि आफ्नो बर्चश्व कायम राख्न चाहन्छ ।
अहिले बजारमा विद्युतीय गाडी विक्री गर्ने कम्पनीहरु नै आगामी ३÷४ वर्षसम्म बजारको अग्रस्थानमा रहन सक्ने संकेतहरु देखिएका छन् ।
यस्तोमा एमजी, हुन्डाई, बीवाइडी, टाटा र कियाले नै नेपालमा विद्युतीय कारको बजारलाई नेतृत्व गर्ने पक्का जस्तै रहेको छ ।
यी कम्पनीहरुले विद्युतीय कार बजारमा आफ्नो बर्चश्व कायम गर्न थाल्नुको पछाडि यी कम्पनीले बनाएका विक्री नेटवर्क, चार्जिङ नेटवर्क, धेरैभन्दा धेरै मोडल थप्ने योजना आदि प्रमुख कारण हुन् ।

आगामी २/३ वर्षमा सर्वाधिक धेरै मोडल उपलब्ध हुने ब्राण्ड बीवाइडी हुने निश्चित छ । बीवाइडीले बस, भ्यान, कारदेखि एसयूभीसम्मका मोडल बजारमा ल्याउने जनाइसकेको छ । बीवाइडी आफैमा टेस्लालाई पच्छाई रहेको ब्राण्ड हो । यसको प्रत्येक्ष लाभ साइमेक्स इंकलाई हुन सक्छ । कम्पनीले अहिले विक्री गर्दै आएको मोडलमा थप ४ नयाँ मोडल २०२२ भित्रै थप्ने तयारी गरिरहेको छ ।

त्यसैगरी एमजीले पनि जेडएस इभीको फेसलिफ्ट मोडल र एमजी ५ गरी दुई मोडलको सहायतामा बजार विस्तारको योजना तयार गरेको छ । नेपाल आएदेखि नै सफल मानिएको इजेडएस अब दुई फरक व्याट्री साइजमा उपलब्ध हुने छ । यस्तोमा अहिले बजारलाई लिड गरिरहेको कम्पनीले आफुलाई थप मजबुद बनाएर अगाडि जाने योजना बनाएको हो ।

चल्तीका ब्राण्डले पहिलो पटक नेपाली बजारमा इलेक्ट्रीक कार ल्याएको कम्पनी हुन्डाई हो । हुन्डाई कोनाको आगमनसँगै नेपालमा इभीको क्रेज बढ्न थालेकोभन्दा फरक पर्दैन । उत्कृष्ट डिजाइन, फावरफुल मोटर र तुलनात्मक रुपमा राम्रो मूल्यको कारण कोना नेपालमा सफल मोडल सावित भएको हो । कोनाको सफलतासँगै कम्पनीले आयोनीक सेडान कार पनि नेपाल ल्याएको थियो ।
कोनाभन्दा लग्जरी आयोनीक अहिले पनि राम्रै संख्यामा विक्री भइरहेको मोडल हो । हुन्डाईले नयाँ आयोनीक ५ ल्याएर बजारमा आफुलाई थप बलियो बनाउने प्रयास गरेको छ । यदि सप्लाईमा समस्या नहुने हो भने हुन्डाई बलियो पकड बनाएर बजारमा बस्ने देखिन्छ ।

भारतीय अटो उत्पादक कम्पनी टाटा इभीमा निकै आक्रमक बजार विस्तारको रणनीति सहित नेपाल प्रबेश गरेको छ । कम्पनीले सुरुमा नै ३० किलोवाट क्षमताको चार्जिङ नेटवर्क तयार गरेर नेक्सन इभी विक्री सुरु गरेको हो । अब चाँडै कम्पनीले टिगोर इभी पनि नेपालमा विक्री गर्ने योजना बनाएको छ । साथै, टाटाले नेक्सनको रेन्ज पनि अपग्रेड गर्ने तयारी गरिरहेको छ । साथै, अल्ट्रोज इभीको तयारी पनि कम्पनीले तिब्र गतिमा गरिरहेको छ ।

किया निरो नेपालीहरुले हारालुछ गरेर किनेका थिए । तर, नेपाल सरकारले करमा गरेको वृद्धि र सप्लाईमा समस्या आएपछि निरोको चर्चा सेलाएको थियो । यद्यपी कियाले सोल इभी र इभी ६ जस्ता नयाँ मोडल नेपाल ल्याएर आफुलाई अझै बलियो छु भन्ने प्रमाणित गर्न सक्ने ठाँउ रहेको छ ।

