२ लाख ६० हजार डाउन पेमेन्टमै इलेक्ट्रीक कार !

काठमाडौं । १२५ सीसी क्षमताको मोटरसाइकलको मूल्यभन्दा कम रकम डाउन पेमेन्ट गरेर पनि कार किन्न पाइन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, एमएडब्लू वृद्धि मोटोकर्पले ल्याएको सेरेस ई–१ किन्नेले २ लाख ६० हजार डाउन पेमेन्ट गरेपछि घर लान पाउने छन् ।

कम्पनीले सेरेस ई–१ बिक्री सुरु गरिसकेको भने छैन । नाडा अटो शोमा ग्राहकको प्रतिक्रिया हेरेर ई–१ बिक्री सुरु गर्ने उसको लक्ष्य देखिन्छ । कम्पनीले ई–१ को सर्ट रेन्ज मोडलको मूल्य १२ लाख ९९ हजार रुपैयाँ कायम गरेर बिक्री सुरु गर्न लागेको छ ।

यसको लङ रेन्ज मोडलको मूल्यभने १५ लाख हाराहारी पर्ने बताइएको छ । कम्पनीले यसको आधिकारीक मूल्य घोषणा भने गरिसकेको छैन । तर, अनुमानित मूल्य भने १३ लाखदेखि १५ लाख रुपैयाँ नै हो । यस्तोमा यो मिनी कारले कति मानिसको ध्यान खिच्न सक्छ । त्यो हेर्न भने नाडा अटो शो नै कुर्नु पर्ने हुन्छ ।

यदि १३ लाख मूल्यको ई–१ किन्ने योजना तपाईले बनाउनु भयो भने अहिलेको अवस्थामा अधिकतम मासिक १८ हजार किस्सा तिर्नु पर्ने हुन्छ । जुन एउटा पेट्रोल कार चढ्ने मानिसले पेट्रोल किन्ने रकममा केही थप गरेर मासिक किस्ता तिर्न सक्छन् ।

यस्तो छ कार

सेरेर ई–१ अहिले चीन, इन्डोनेशिया, पाकिस्तान जस्ता देशमा बिक्री वितरण हुँदै आएको छ । सेरेस ई–१ दुई ढोका भएको कार हो । सहरी क्षेत्रलाई ध्यानमा राखेर तयार पारेको यो मिनी ईभी अन्तर्राष्ट्रिय बजारमा दुई ब्याट्री अप्सनमा बिक्री हुँदै आएको छ ।

एमएडब्लू वृद्धिले बिक्री गर्ने सेरेस ई–१ दुबै ब्याट्रीमा नेपाल आउने छ । यसको सर्ट रेन्ज मोडलमा १३.८ किलोवाट आवर र लङ रेन्ज मोडलमा १६.८ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ । सर्ट रेन्जले १८० र लङ रेन्जले २२० किलोमिटर रेन्ज दिने एनइडीसीले प्रमाणित गरेको छ ।

यसमा मोटर पनि फरक छ । सर्ट रेन्ज भर्सनमा २५ किलोवाट र लङ रेन्ज भर्सनमा ३० किलोवाट क्षमताको मोटर रहेको छ । दुबै भेरियन्टमा एसी चार्जर मात्रै प्रयोग हुन्छ । यसलाई ३.३ किलोवाट क्षमताको एसी चार्जरले अधिकतम ४ घन्टा ३० मिनेटमा फुल चार्ज गर्न सकिन्छ ।

यसमा कम्पनीले सुरक्षा फिचर पनि राम्रोसँग दिएको छ । अगाडि डिस्क र पछाडि ड्रम ब्रेक दिइएको कारमा, सिटबेल्ट रिमाइन्डर, टायर प्रेसर मोनिटर, पार्किङ सेन्सर, हिल होल्ड कन्ट्रोल, एयरव्याग जस्ता फिचर पाउन सकिन्छ ।

यसमा प्रयोग भएका लाइटहरु एलइडी छन् । गाडीको साइज पनि निकै आकर्षक छ । यसको लम्वाई ३०३० एमएम, चौडाई १४९५ एमएम, उचाई १६४० एमएम रहेको छ ।


Back_to_top