काठमाडौं । सरकारले मोटरको पीकपावरको आधारमा कर निर्धारण गरेका कारण गाडी आयातकर्ता कम्पनीहरूले पीक पावर घटाएर विद्युतीय गाडी नेपाल ल्याए । यसरी गाडी ल्याउँदा बिक्रेताले धेरै गाडी बेच्न सफल भए । उपभोक्ताले थप सस्तोमा गाडी पाए ।
यसरी मोटर पावर कम गरेर गाडी ल्याउँदा बजारमा एक किसिमको बहस नै सुरू भयो । कतै कम्पनीहरूले गरेको काम गैह्रकानुनी त होइन भन्ने कुरा चिया पसलदेखि संसदसम्म गुन्जियो ।
महालेखाले त्यसमा चासो देखायो । दर्जनौं बेनामे उजुरी अख्तियारदेखि राजश्व अनुसन्धान विभागमा पर्यो । यसले ईभी बजारमा ठूलै खैलाबैला मच्चायो । तर, आयातकर्ता कम्पनीदेखि निर्यात गर्ने कम्पनीहरू आफ्नो प्रोडक्टमा ढुक्क देखिए ।
यो सबै घटना क्रममा ठूलो अन्तरमा घटाइएको मोटर पावरको कारण गाडीको पर्फमेन्समा आएको गिरावटको विषयमा भने चर्चा भएन । त्यसको मुख्य कारण हाम्रो सडक पुर्वाधार हो । हाम्रा सडकमा पर्फर्मेन्स कारहरू चलाउन मिल्ने अवस्था छैन । सहरी क्षेत्रमा ३०/४० किलोमिटर प्रतिघण्टाको स्पीडमा पनि गाडी चलाउन पाइँदैन ।
हाम्रा अलिक ठूला र फराकिला बाटोहरूमा पनि ३० देखि ५० किलोमिटर प्रतिघण्टाको स्पीड निर्धारण भएका छन् । त्यसैले गाडीको पर्फर्मेन्सको विषयमा कसैले पनि प्रश्न उठाउनै सक्दैनन् ।
बजारमा पावर घटेर आउन थालेसँगै उपलब्ध टाटा नेक्सन ईभी, एमजी जेडएस ईभी, बीवाइडी एटो-थ्री, ओमोडा ई-५, दीपल एस-०७ जस्ता मोडल आए । यी सबै गाडीले निकै राम्रो ब्यापार पाए ।
विस्तारै पावरफुल मोटर भएका गाडी आउँदै
लीपमोटरको सी-१० एसयूभी १६० किलोवाटको मोटरमा आयो । बजारमा यसले निकै राम्रो व्यापार गर्न थालेसँगै जिकर एक्स, जेको जे-६, एक्सपेङ जी-६, स्मार्ट ह्यासट्याग-थ्री, प्रोटोन इमास-७ जस्ता मोडल पावर नघटाई बजारमा आए ।
सुरूमा ठूलै मोटरमा आएको केई एक्सथ्री प्रो अब ९९ किलोवाटमा झरेको छ । हुन्डाईले पनि आफ्नो चर्चित क्रसओभर आयोनिक-५ लाई ९९ किलोवाटको मोटरमा ल्याउने भएको छ । यो प्रिमियम कार यसअघि १२५ किलोवाट क्षमताको रियर ह्वील मोटरमा उपलब्ध थियो ।
मोटरमा ध्यान कम
बजारमा प्रतिस्पर्धी बन्न कम्पनीहरूले मोटर पावर घटाएर ल्याएका हुन् । एउटा १०० किलोवाटसम्मको मोटर भएको एसयूभी र २०० किलोवाटसम्म क्षमताको मोटर भएको एसयूभीको मूल्यमा ७ देखि १० लाख रुपैयाँसम्म फरक पर्ने भएको कारण घटाउने चलन चलेको हो ।
उपभोक्ताले नै गाडी अनुसारको पावर खोज्न थालेसँगै बिक्रेताले पनि माग अनुसारको गाडी ल्याउन थालेका हुन् । त्यसैले मोटर पावर अब चर्चाको विषय रहेन । सुरूमा विद्युतीय गाडीले तान्दैन भन्ने बुझाइ धेरैको थियो । अब यो पूर्ण रूपमा परिवर्तन भएको कारण बजार माग हेरेर आयातकर्ता पनि गाडी ल्याउन थालेका छन् ।

