काठमाडौं । दुई दिनअघि इलेक्ट्रीक भेहिकल ग्रुपका को-फाउन्डर प्रनिस पाठकले आफ्नो ग्रुप सदस्यहरुलाई अलर्ट रहन भन्दै नेपाल विद्युत प्राधिकरणका बितरण तथा ग्राहक सेवा केन्द्रहरुले निजी क्षेत्रले संचालन गरेर चार्जिङ स्टेशनलाई सहयोग नगरेको उल्लेख गरेका छन् ।
निजी क्षेत्रले संचालन गरेको चार्जिङ स्टेशनमा आवश्यक मात्रमा लोड उपलब्ध नभएको गुनासोहरु आइरहेका छन् भन्दै पाठकले लेखेका छन्, ‘आउँदै गरेको चाडपर्वमा निजी क्षेत्रको चार्जर पूर्ण क्षमतामा चलाउन नसक्ने हो भने भयाबह अवस्था आउने सक्ने छ । त्यसतर्फ सबै सहजक हुनुहोला ।’
अहिले संचालनमा रहेका चार्जिङ स्टेशनमा न्यूनतम २०० केभीएसम्म लोड तल्लो भोल्टेजमा उपलब्ध गराउनु पर्नेछ । तर, यहाँ आवश्यक भोल्टेज उपलब्ध नभएको गुनासोहरु आइरहेका छन् ।
‘अहिले भोल्टेजको समस्या भोगिरहेका ५० भन्दा बढी चार्जर छन् । कतिपय स्थानमा नेपाल विद्युत प्राधिकरणको ग्राहक सेवा केन्द्रहरुले सहयोग गरेपनि क्षेत्रीय कार्यालयहरुले काममा सहजीकर गरेका छैनन्’, पाठकले लेखेका छन् ।
के भन्छ प्राधिकरण ?
नेपाल विद्युत प्राधिकरण भोल्टेज समस्या भएको कुरा सहजै स्विकार गर्छ । भोल्टेज समस्या समाधानको लागि थुप्रै सब-स्टेशनहरु थप गर्नु पर्नेछ । अहिले ३० केभीएको लाइन ३०० किलोमिटरसम्म फैलाइएको अवस्था हो, जबकी राम्राे भाेल्टेजकाे लागि ३० किलाेमिटर भित्रै हुनुपर्छ । त्यसलाई सुधार नगरेसम्म भोल्टेजमा समस्या रहिरहने प्राधिकरणकाे भनाइ छ ।
‘नेपालमा विजुली बत्ती बाल्ने कुरालाई ध्यान दिएर पूर्वाधर निर्माण भएको हो । अहिले गाउँगाउँमा ब्यापारीक प्रयोजनमा प्रयोग हुन थाल्यो । त्यसैले भोल्टेजमा समस्या आयो । प्राधिकरणले सब-स्टेशन निर्माण सुरु गरेको छ, त्यसलाई केही समय लाग्छ । बरु निजी क्षेत्रले कम भोल्टेजमा चल्ने चार्जर ल्याउनु पर्छ’, नेपाल विद्युत् प्राधिकरण चार्जिङ पूर्वाधार आयोजना प्रमुख सागरमणि ज्ञावालीले बताए ।
चार्जर कै समस्या धेरै
चाडपर्वको समयमा मानिसको ओहोर दोहोर निकै बाक्लो हुन्छ । त्यसमा पनि विद्युतीय निजी साधनको यात्रा प्रयोग धेरै हुन्छ । यसले समग्र चार्जिङ पूर्वाधारलाई निकै अफ्ठ्यारो पार्ने देखिन्छ ।
अहिले बजारमा उपलब्ध ५ हजारभन्दा बढी माइक्रो भ्यान र २० हजार हाराहारी कार छन् । त्यसमध्ये सबै माइक्रो भ्यान यात्रामा हुन्छन् । बाँकी कारको ५० प्रतिशतले मात्रै हाइवे यात्रा गर्ने हो भने चार्जिङ पूर्वाधारले थेग्नै सक्दैन ।
मुख्य विषय अहिले जडान भएका चार्जिङ पूर्वाधार मध्ये ३० प्रतिशतभन्दा बढी समस्यामा देखिन्छन् । यसले उपभोक्तालाई घन्टौं चार्जिङको लागि कुर्नु पर्ने अवस्था ल्याउन सक्छ । यसलाई सहि ब्यवस्थापन प्राधिकरण र चार्जिङ निर्माणकर्ताले गर्नु पर्ने हुन्छ ।