काठमाडौं । सीजी मोटर्सले विगत केहि महिनादेखि नेपाल ल्याएर सडक परिक्षण गरिरहेको दायून ब्राण्डको ‘युएहु मोडल’ मेरोअटो टीमले टेस्ट ड्राइभ गरेको छ । चिनियाँ ईभी नेपाल भित्रने नाका रसुवागढीको टिमुरेसम्म युएहु ह्याचव्याकलाई हामीले चलाएर हेरेका छौं ।
करिब १५० किलोमिटर लामो यात्रामा हामीले यसलाई ठूला गाडी मात्रै यात्रा गर्न सक्ने बाटोमा चलाएर जानु परेको थियो । ४ जनाले यात्रा गरेको दायून कम्प्याक्ट कारलाई थलीदेखि टोखासम्मको सहरी बाटो, टोखादेखि शिवपुरीसम्मको अपहिल र शिवपुरीदेखि छहरेसम्मको ओरालो बाटोमा चलाएका थियौ । यी सबै बाटो कालोपत्र गरिएको छ ।

नुवाकोटको ढुङ्गेदेखि रसुवाको सदरमुकाम धुन्चेसम्म उकालो बाटो छ । धुन्चेदेखि अत्यन्त बिग्रेको ओरालो बाटो छिचोल्दै स्यापु्रmबेसी पुगेका थियौं । स्याफ्रुबेसीदेखि टिमुरेसम्म निकै कठिन अफरोडमा ह्याचव्याक कार चलाएर हामी गएका थियौं ।

धुन्चेमा भेटिएका एक पीकअप चालकले नजान सल्लाह दिएका थिए । तर, हामी हाम्रो लक्ष्यमा विचलित भएनौं । हामी दायूनको कारमा रसुवागढी बोर्डर पुग्यौं । काठमाडौंबाट ८५ प्रतिशत चार्जमा सुरु भएको हाम्रो यात्रा लगभग १ प्रतिशत चार्ज बाँकी रहँदा घट्टेखोलामा रहेको होटल रिभर भ्यूमा पुगेको थियो ।

यसमा ३१ किलोवाट आवरको ब्याट्री र ३९ किलोवाटको मोटर भएका कारण पावर र पफर्मेन्सको सहि संयोजन हामीले पायौं । हाम्रो अनुभवमा यसले दिएको रेन्ज एकदमै उत्कृष्ट लाग्यो । अझ यसको २०१ एमएम अग्लो ग्राउण्ड क्लियरेन्सले इलेक्ट्रीक एसयूभीलाई माथ दिने किसिमको थियो ।

इन्डीपेन्डेन्ट सस्पेन्सन सेटअप र चारवटै चक्कामा रहेको डिस्क ब्रेकले यात्रालाई रोमान्चक बनायो । यसको पुरा रिभ्यू केही दिन भित्रै ल्याउने छौं ।









