जर्मनीमा सुरु भयो चांगानको अपरेसन

काठमाडौं । चांगानले जर्मनीमा आफ्नो सहायक कम्पनी स्थापना गरेको छ । युरोपमा बजार विस्तार तथा इन्जिनियरिंग अनुसन्धानलाई बढावा दिन चांगानले जर्मनीमा आफ्नो अपरेसन सुरु गरेको हो ।

यसअघि गत अगस्टमा चांगानले दिपल ब्राण्डको एसयूभी अस्ट्रेलियाली सडकका लागि अनुमति पाएको थियो । चिनियाँ सरकारको स्वामित्वमा रहेको चांगानले हुवावे र सीएटीएलसँग सहकार्य गरेर दिपल एस-०७ बनाएको हो ।

चीनमा फोर्ड तथा माज्दासँग सहकार्य गरिरहेको अटो ग्रुपले जर्मनीमा चांगान अटोमोबाइल डचल्यान्ड नामको सहायक कम्पनी विस्तार गरेको हो जसले युरोपमा बजार विस्तार तथा ग्राहक सेवालाई प्राथमिकता दिनेछ ।

युरोपमा बलियो उपस्थिति बनाउने उद्देश्यले यो कदम चालिएको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, यो चांगानको भास्ट ओसियन नीति अन्तर्गतको महत्वपूर्ण कदम हो ।

चांगानको व्यापारलाई अन्तर्राष्ट्रिय करण गर्ने लक्ष्यलाई भास्ट ओसियन नाम दिइएको हो । गतवर्ष चांगान कम्पनीले सन् २०३० सम्ममा चीन बाहिर १० अर्ब डलर लगानी गर्ने र हरेक वर्ष १२ लाख कार बिक्री गर्ने महत्वाकांक्षी घोषणा गरेको थियो ।

त्यसको चार महिनापछि कम्पनीले थाइल्यान्डमा ईभी प्लान्ट स्थापना गर्न २५ करोड ७४ लाख डलर खर्च गर्ने बताएको थियो । त्यो नै चीन बाहिर कम्पनीको पहिलो प्लान्ट हो । यहि प्लान्टमा बनाएको कार अस्ट्रेलिया, न्युजिल्यान्ड, बेलायत र दक्षिण अफ्रिका निर्यात हुनेछ ।

चिनियाँ कार निर्माताका लागि अझै पनि युरोप आकर्षक गन्तव्य हो किनभने यहाँको बजारको आकार ठूलो छ र नाफाको सम्भावना पनि बढी छ । इन्टरनेशनल इन्टेलिजेन्ट भेहिकल इन्जिनियरिंग एसोसिएसनका महासचिव डेविड झांगले भने, ‘चिनियाँ इभी निर्मातामाथि लगाइएको थप कर नीतिले युरोपेली बजारमा पुग्ने उनीहरुको योजनालाई अल्पकालिन प्रभाव मात्र पार्नेछ ।’

अगस्टमा युरोपेली युनियनले चीनबाट आयात हुने ईभीमा ९ देखि ३६.३ प्रतिशतसम्मको थप कर लगाउने घोषणा गरेको थियो । युरोपेली युनियनले गत अगस्टमा चांगानमाथि २१.३ प्रतिशत कर लगाएको थियो, जुन स्ट्यान्डार्ड रेटभन्दा १० प्रतिशतले बढी हो ।

यो वर्ष चांगानले चीनबाहिर चार लाख ८० हजार कार विक्री गर्ने लक्ष्य राखेको छ । जुन गतवर्षको विक्रीदरको दुई गुणा बढी हो । विशेष गरी उसले अवतार, दिपल र निभोलाई प्राथमिकतामा राखेर निर्यात गर्दै आएको छ ।


Back_to_top