काठमाडौं । नेपाली बजारमा लीपमोटरको नयाँ इलेक्ट्रीक एसयूभी ‘बी ०३ एक्स’ सार्वजनिक भएको छ । नेपालका लागि लीपमोटरको आधिकारिक बिक्रेता साँग्रिला मोटर्सले ‘बी ०३ एक्स’ बिक्री सुरू गरेको हो ।
कम्पनीले बी ०३ एक्सको आधिकारिक मूल्य ४६ लाख ९९ हजार रुपैयाँ तोकेको छ । तर, पहिलो १०० ग्राहकलाई ४४ लाख ९९ हजार रुपैयाँमै उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
चिनियाँ बजारमा ‘ए १०’ नामबाट बिक्री भइरहेको एसयूभी नेपालमा बी ०३ नाममा आएको हो । बी ०३ एक्समा १४५ किलोवाटको इलेक्ट्रीक मोटर र ५३ किलोवाट आवरको ब्याट्री रहेको छ । यसमा रहेको ब्याट्रीले एकपटकको फुलचार्जमा ५०५ किलोमिटरसम्मको सीएलटीसी रेन्ज दिने कम्पनीको दाबी छ ।
डीसी फास्ट चार्जरबाट ब्याट्रीलाई ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब १६ मिनेट लाग्ने दाबी कम्पनीले गरेको छ । बी ०३ एक्सको ऊर्जा खपत प्रति १०० किलोमिटर १०.७ किलोवाट आवर रहेको छ ।
यसको डिजाइन आधुनिक, व्यवहारिक र एरोडाइनामिक शैलीमा तयार गरिएको छ । यसको अगाडि बन्द ग्रिल, स्लिम एलईडी हेडलाइट र स्माइल शैलीको लाइट छन् । बम्परको डिजाइन सफा र एरोडाइनामिक छ । यसको साइडमा फ्लेयर गरिएको ह्वील आर्च, कालो क्ल्याडिङ, सेमी हिडन डोर ह्याण्डल र फ्लोटिङ रूफ इफेक्ट छ । पछाडि एलईडी टेललाइट दिइएको छ ।

यसमा ५१० लिटरको फराकिलो बुटस्पेस, प्रिमियम बनावट र फराकिलो क्याबिन रहेको छ। यसको लम्बाइ ४२७० एमएम, चौडाइ १८१० एमएम, उचाइ १६३५ एमएम र ह्वीलबेस २६०५ एमएम छ । यसमा १८ इन्चको एलोय ह्वील दिइएको छ । यसको अगाडि म्याकफर्सन स्ट्रट र पछाडि टोर्सन बीम सस्पेन्सन पाउन सकिन्छ ।
यसको इन्टेरियरमा टु स्पोक मल्टि फक्सन स्टेयरिङ ह्वील, ८.८८ इन्चको पूर्ण एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर र १४.६ इन्चको २.५के फ्लोटिङ सेन्ट्रल कन्ट्रोल स्क्रीन रहेको छ। यसको इन्फोटेनमेन्ट सिस्टम क्वालकम ८२९५ ककपिट चिपद्वारा संचालित छ भने ‘क्वेन’को एआई असिस्टेन्ट जडान गरिएको छ।


