दिगोले ५ ठाँउमा ‘ई-स्टप’ निर्माण गर्दै, एकैपटक दर्जन बढी गाडी चार्ज गर्न मिल्ने

काठमाडौं । दिगो ग्रुपले देशका विभिन्न ५ स्थानमा ई-स्टप निर्माण कार्य अगाडि बढाएको छ । कम्पनीले नवलपरासीको दलदले, काठमाडौंको चोभार र काभ्रेको भकुण्डेबेँसीमा चार्जिङ स्टेशन निर्माण तीव्र गतिमा अगाडि बढाएको हो ।

एकैपटक एक दर्जन गाडीलाई चार्जिङ सुविधा उपलब्ध गराउने गरी काम गरिरहेको कम्पनीले दलदलेमा चार्जर जडान नै सुरू गरिसकेको दिगो ग्रुपका चेयरम्यान राजन रायमाझीले जानकारी दिए ।

‘हामी चार्जिङ पूर्वाधार निर्माणमा तीव्र गतिका साथ काम गर्न चाहन्छौं । नेपाल विद्युतीय साधन संचालनमा गइसक्यो । त्यसको लागि पूर्वाधार भएन भने समस्या हुन्छ । त्यही भित्र दिगोले ई-स्टपको अवधारणा खोजेको हो,’ रायमाझीले मेरोअटोसँग भने ।

दिगोले दलदलेको अलावा चोभारको बुद्धको मूर्ती भएको स्थानबाट तल ६ रोपनी जग्गा लिएर काम अगाडि बढाएको हो । पूर्व–पश्चिम हाइवेको लागि इटहरी र मदनभण्डारी हाइवेको लागि कटारीमा पनि ई-स्टप बनाउने काम अगाडि बढाएको हो ।

अहिले दुई स्थानमा ई-स्टप चलाइरहेको कम्पनीले यही वर्ष १० स्थानमा चार्जिङ स्टेशन पुर्याउने लक्ष्य लिएको रायमाझीले बताए । आगामी पाँच वर्षभित्र ५० वटा ठूला चार्जिङ सेन्टर निर्माण गर्ने आफूहरूको लक्ष्य रहेको उनको भनाइ छ ।

‘जुनसुकै गाडीको बिक्री होस्, तर नेपालमा विद्युतीय साधन प्रयोग बढ्नु पर्छ । अहिले हामी व्यवसायीहरू एकत्रित भएर काम गर्न सकेका छैनौं । हाम्रो आवश्यकता पूर्वाधार निर्माण हो । त्यसमा हामी लागेका छौं,’ रायमाझीले भने ।

अहिले निर्माणको क्रममा रहेको स्थान बाहेक बुटवल, कोहलपुर, दाङ लगायतका स्थानमा चार्जर राख्ने सम्भाव्यता अध्ययन भइरहेको उनले बताए ।

दिगोले चलाइरहेको कुरिनटारको ई-स्टपमा ६ वटा सीसीएस-२ र ६ वटा जीबीटी चार्जर छन् । मूलकोटमा जीबीटी चार्जर मात्रै छ । चाँडै त्यहाँ सीसीएस-२ चार्जर थप्ने तयारी चलिरहेको रायमाझीले जानकारी दिए ।


Back_to_top