१८० सेकेण्डमै सोल्ड आउट भयो रोयल इनफिल्डको विशेष मोटरसाइकल

काठमाडौं । रोयल इन्फिल्ड शटगन ६५० रफ क्राफ्ट्स एडिसन मोटरसाइकल बुकिङ खुलाएको १८० सेकेण्डमै सोल्ड आउट भएको छ ।
कम्पनीले विशेष संस्करणका रुपमा निर्माण गरेको यो मोटरसाइकल भारतमा बुकिङ खुलाएको ३ मिनेटमै सबै अर्डर भएको हो ।

यो मोटरसाइकल जम्मा १०० युनिट उत्पादन गरिएको छ । सोमध्ये भारतीय बजारका लागि २५ युनिट छुट्याइएको थियो । जुन ३ मिनेटमै बिक्री भएको हो । यसको मूल्य ५ लाख ७५ हजार भारु तोकिएको थियो ।

भारत बाहेक रफ क्राफ्ट्स स्पेसल एडिसन शटगन ६५० युरोप, उत्तर अमेरिका, एसिया प्यासिफिक लगायतका बजारहरूमा बिक्री गरिने कम्पनीले बताएको छ ।

स्पेसल एडिसन शटगन ६५० मोटरसाइकल रोयल इन्फिल्ड इन्डिया र ताइवानको चर्चित कस्टम मोटरसाइकल डिजाइन कम्पनी रफ क्राफ्टको सहकार्यमा तयार गरिएको हो ।

यो मोटरसाइकल डेढ मिनेटमै सोल्ड आउट हुनुको मुख्य कारण यसको नयाँ डिजाइन हो । मोटरसाइकलमा हातले बनाइएको गोल्ड लिफ स्ट्राइप, ब्रास ट्याङ्क ब्याज, लिमिटेड एडिसन नम्बरिङ, क्विल्टेड लेदर शिट, गोल्ड फिनिस्ड फोर्क र विशेष अलोय ह्वील जस्ता कस्टम एलिमेन्टयस दिइएको छ ।

रोयल इन्फिल्ड शटगन ६५० रफ क्राफ्ट्स एडिसनलाई कम्पनीले आफ्नो ‘फ्याक्ट्री–बिल्ट कस्टम’ मोटरसाइकलका रूपमा प्रस्तुत गरेको छ । यो मोटरसाइकल रफ क्राफ्टको चर्चित वन–अफ क्यालिबर रोयल कस्टम मोटरसाइकलबाट प्रेरित रहेको बताइएको छ ।

यसको बडीमा म्याट स्टिल्थ ब्ल्याक र ग्लस जेट ब्ल्याक कलरको संयोजन प्रयोग गरिएको छ । साथै, ब्ल्याक बार–एण्ड मिरर, क्विल्टेड लेदर शिट, गोल्डेन कलरको फ्रन्ट फोर्क र कन्ट्रास्ट–कट अलोय ह्विलले यसलाई थप प्रिमियम लुक दिएको छ ।

रोयल इन्फिल्ड शटगन ६५० रफ क्राफ्ट्स एडिसनमा मेकानिकल रूपमा भने कुनै परिवर्तन गरिएको छैन । यसमा स्ट्याण्डर्ड शटगन ६५० कै ६४८ सीसी, प्यारेलेल–ट्विन, एयर र आयल–कुल्ड इन्जिन प्रयोग गरिएको छ । यो इन्जिनले अधिकतम ४७ एचपी पावर तथा ५२.३ एनएम टर्क उत्पादन गर्छ ।


Back_to_top