२१ दिनपछि आउँदै एथरको नयाँ सस्तो इलेक्ट्रीक स्कुटर ‘कोनार्क’

काठमाडौं । एथरको नयाँ मास मार्केट इलेक्ट्रीक स्कुटर ‘कोनार्क’ आगामी अगस्ट २९ तारिकमा सार्वजनिक हुने भएको छ ।

एथर इनर्जीले आफ्नो आगामी नयाँ किफायती इलेक्ट्रीक स्कुटरको नाम पहिलो पटक आधिकारिक रूपमा सार्वजनिक गर्दै अगस्ट २९ मा स्कुटर लन्च हुने जनाएको हो ।

कम्पनीले नयाँ स्कुटरको विश्वव्यापी डेब्यु आगामी अगस्ट २९ मा हुने वार्षिक एथर कम्युनिटि डे कार्यक्रममा गर्ने भएको हो ।

कोनार्क एथरको नयाँ ईएल प्लेटफर्ममा आधारित पहिलो उत्पादन मोडल हो । यस प्लेटफर्ममार्फत कम्पनीले भारतको सबैभन्दा ठूलो कम्युटर इलेक्ट्रिक स्कुटर सेग्मेन्टमा आफ्नो उपस्थितिलाई अझ बलियो बनाउने लक्ष्य लिएको बताएको छ ।

कम्पनीले केही दिनअघि मात्रै नयाँ स्कुटरको उत्पादन आफ्नो उत्पादन केन्द्रमा सुरू भएको पुष्टि गरेको थियो । नाम सार्वजनिकसँगै एथरले स्कुटरका केही टिजर तस्बिरहरू पनि सार्वजनिक गरेको छ । जसले यसको डिजाइनबारे थप जानकारी देख्न पाइन्छ ।

सार्वजनिक गरिएको टिजर अनुसार एथर कोनार्कको डिजाइन पहिले प्रदर्शन गरिएको इएल ०१ कन्सेप्टसँग धेरै हदसम्म मेल खान्छ । स्कुटरमा ह्याण्डलबारमा जडान गरिएको हेडलाइट, अगाडिको भागमा ठाडो डिजाइन गरिएको एप्रोन तथा अगाडि फैलिएको फुल विड्थ एलईडी डीआरएल दिइएको छ । डीआरएलको माथिल्लो भागमा एथरको लोगो पनि राखिएको छ ।

साइड प्रोफाइलमा लामो सिंगल पिस सिट, फराकिलो फ्लोरबोर्ड तथा परिवारलाई लक्षित सरल डिजाइन देखिन्छ । पछाडिको भागमा आकर्षक स्लिम एलईडी टेललाइट राखिएको छ भने अलोय ह्विल र अगाडिको डिस्क ब्रेकले उच्च भेरियन्टमा प्रिमियम हार्डवेयर उपलब्ध हुने देखिन्छ ।

कोनार्कमा एथरका हालका स्कुटरमा प्रयोग हुने पोलिमर बडीको सट्टा मेटल बडी प्यानल प्रयोग गरिएको छ । जसले स्कुटरलाई अझ मजबुत बनाउनुका साथै परम्परागत स्कुटरकै लुक्स प्रदान गर्छ ।

एथरका सह संस्थापक तथा सीईओ तरुण मेहताका अनुसार ईएल प्लेटफर्म कम्पनीको करिब एक दशकको ईभी विकास यात्राको परिणाम हो । यो प्लेटफर्म विशेषगरी किफायती मूल्य, दैनिक प्रयोगमा सहजता, आरामदायी सवारी, चार्जिङ सुविधा, कम मर्मत खर्च, राम्रो बिक्री मूल्य र उच्च सुरक्षालाई प्राथमिकता दिएर विकास गरिएको हो । कोनार्क किफायती मूल्यमा आउने भएकाले यसले एरको बिक्रीलाई उल्लेखनीय रूपमा बढाउने अपेक्षा गरिएको छ ।

हालसम्म कम्पनीले स्कुटरको ब्याट्री क्षमता, रेन्ज, मोटर पावर, फिचर, मूल्य तथा डेलिभरी सम्बन्धी विवरण सार्वजनिक गरेको छैन । यी सबै जानकारी आधिकारिक अनावरणका क्रममा सार्वजनिक गरिनेछ ।


Back_to_top