नेपाल आएको लीपमोटर ‘B03X’ले बनायो रेकर्ड, १३५ दिनमै १ लाख उत्पादन

काठमाडौं । नेपालमा आज लन्च हुन लागेको लीपमोटरको बी ०३ एक्स इलेक्ट्रीक एसयूभीले नयाँ रेकर्ड बनाएको छ । कम्पनीले चिनियाँ बजारमा ए १० नामबाट बिक्री गरिरहेको यो एसयूभीले १३५ दिनमै १ लाख युनिट उत्पादनको माइलस्टोन पूरा गरेको हो ।

लीपमोटरको पोर्टोफोलियोमा कुनै पनि मोडलले साढे ४ महिना १ लाख युनिट उत्पादन भएको पहिलो पटक हो । बजारमा माग उच्च भएसँगै कम्पनीले यसको उत्पादन बढाएको हो ।

कम्पनीले यो एसयूभी गत मार्च अन्तिम साता बिक्री सुरु गरेको थियो । महिनै पिच्छे यसको माग बढ्दो क्रममा छ । ए १० अप्रिलमा १४ हजार ३७२ युनिट, मेमा बढेर २३ हजार ११ युनिट, जुनमा २६ हजार ८०४ युनिट र जुलाइमा २८ हजा ५९३ युनिट डेलिभरी भएको थियो ।

चिनियँँ बजारमा साढे ९ हजार डलरमै आएको ए १० को लम्बाइ ४२७० एमएम, चौडाइ १८१० एमएम र उचाइ १६३५ एमएम रहेको छ । यसमा २६०५ एमएम लामो ह्वील बेस छ ।

चीनमा ए १० नाममा बिक्री भइरहेको ए १० मा ७० किलोवाट र ९० किलोवाटको दुई इलेक्ट्रीक मोटर अप्सनमा उपलब्ध छ । यसले क्रमशः ९४ हर्ष पावर र १२१ हर्ष पावर शक्ति दिन्छ । नेपालमा बी ०३ एक्स नाममा आएको एसयूभीमा भने १४५ किलोवाटको मोटर छ ।

ए १० मा ३९.८ किलोवाट आवर र ५३ किलोवाट आवरको ब्याट्री अप्सन उपलब्ध छ । नेपालमा भने ठूलो ५३ किलोवाटको ब्याट्रीमा आएको हो । यी ब्याट्रीहरूले क्रमशः ४०३ किमी र ५०५ किमीको रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ । ए १० ले फास्ट चार्जर सर्पोट गर्छ । जसले १६ मिनेटमै ३० प्रतिशतबाट ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न सक्छ।

लीपमोटर ए १० मा ‘टेक नेचुरल एस्थेटिक्स २.०’ डिजाइन शैली अपनाइएको छ। यसको अगाडिको भागमा ‘स्माइलिङ’ हेडलाइटहरू रहेका छन्। अगाडिको बम्परमा हावा छिर्ने ट्र्यापेजोइडल प्वाल र फग लाइट क्षेत्रमा भेन्टिलेसन प्वालहरू बनाइएका छन् । यसमा ६ वटा आकर्षक रङहरूमा सिविड ग्रीन, एकर्न ब्राउन, बेरी ब्लू, टुन्ड्रा ग्रे, ग्यालेक्सी सिल्भर र मोर्गन पिंकमा उपलब्ध छ । छतमा लाइडार सेन्सर, ब्ल्याक कलरको डी पिल्लर, युनिक डिजाइनको डोर ह्याण्डल दिइएको छ ।

यसको इन्टेरियरमा टु स्पोक मल्टि फक्सन स्टेयरिङ ह्वील, ८.८८ इन्चको पूर्ण एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर र १४.६ इन्चको २.५के फ्लोटिङ सेन्ट्रल कन्ट्रोल स्क्रीन रहेको छ। यसको इन्फोटेनमेन्ट सिस्टम क्वालकम ८२९५ ककपिट चिपद्वारा संचालित छ भने ‘क्वेन’को एआई असिस्टेन्ट जडान गरिएको छ। मुख्य स्क्रिनको मुनि रहेको फ्लोटिङ बारमा एम्बियन्ट लाइटिङ, फ्राग्रेन्स डिस्पेन्सर, ह्युमिडिफायर, अगाडिका हिटेड सिटहरू छन् ।

ए १० मा लाइडार र क्वालकम ८६५० चिप जडान गरिएको छ, जसले गर्दा यसले एक पार्किङ स्थलबाट अर्को पार्किङ स्थलसम्म पूर्ण रूपमा अटोमेटिक ड्राइभिङ गर्न सक्छ । यसमा सिटी एनएपी हाइवे नेभिगेसन र मेमोरी पार्किङ जस्ता सुविधाहरू छन्। यात्रुको सुरक्षाका लागि गाडीको मुख्य भागहरूमा २००० मेगापास्कलको एरोस्पेस ग्रेड स्टील प्रयोग गरिएको छ।


Back_to_top