ह्याचव्याक कारकै मूल्यमै पन्च एसयूभी

काठमाडौं । टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले पन्च ईभीको फेसलिफ्ट मोडल नेपाल ल्याएको छ । कम्पनीले भक्तपुरको राधेराधेदेखि धुलिखेलको डट टेम्पलसम्म मिडिया ड्राइभ आयोजना गरेर फेसलिफ्ट पन्च बजार सार्वजनिक गर्ने तयारी गरेको हो ।

भक्तपुरमा आयोजित कार्यक्रममा सिप्रदी ट्रेडिङका प्यासेन्जर कार युनिटका जनरल मेनेजर सावन्तजंग सिजापतिले फ्ल्यागअफ गरेर ड्राइभ सुरु गराएका थिए ।

‘हामीले एसयूभी ल्याएका छौं । जुन, बजारमा पाइने ह्याचव्याक कारकै मूल्यमा उपलब्ध हुनेछ’, जनरल मेनेजर सिजापतिले भने ।

टाटाले आफ्नो सफल मोडललाई अपग्रेड गरेर बजारको आवश्यकता सम्बोधन गर्न पन्च ईभी ल्याएको बताउँदै उनले भने, ‘मूल्य पहिलेको भन्दा घट्छ । तर, त्यसको घोषणा हामी नाइमा नेपाल मोविलिटी एक्स्पोमा गर्ने छौं ।’

यसअघि पन्च ईभीको टप भेरियन्टको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ थियो । यसको मतलव फेसलिफ्ट पन्च ईभी पहिलेको भन्दा सस्तो हुनेछ । कम्पनीका अनुसार नयाँ पन्च ईभी ३ भेरियन्टमा बिक्रीको लागि उपलब्ध हुनेछ ।

झण्डै ८०/९० जनाको टिमले पन्च ईभी टेस्ट ड्राइभ गरेका थिए । टेस्ट ड्राइभको क्रममा डट टेम्पलमा अफरोड सर्किट नै निर्माण गरेर पन्च ईभी चलाउने ब्यवस्था गरिएको थियो । जहाँ उबडखाड बाटो, सार्प टर्निङ, केही स्थानमा हिलो र उकालो तथा ओरालो बाटो निर्माण गरिएको थियो ।

टाटा पन्च ईभी ९५ किलोवाट क्षमताको मोटर र ४० किलोवाट आवरको ब्याट्री प्याकमा बिक्री सुरु हुनेछ । सानो ब्याट्री र मोटर भएको भेरियन्ट आउने वा नआउने विषयमा कुनै जानकारी प्राप्त भएको छैन ।


Back_to_top