सोलिड स्टेट ब्याट्रीमा बीवाइडीको ६ पेटेन्ट स्वीकृत

काठमाडौं । बीवाइडीले सोलिड-स्टेट ब्याट्रीको विकासलाई तीव्रता दिइरहेको छ । कम्पनीले यसमा थुप्रै पेटेन्ट दर्ता गराउँदै आएको छ । यही क्रममा नयाँ ६ वटा पेटेन्टले स्वीकृति पाएसँगै चर्चा चुलिएको हो ।

सोलिड-स्टेट ब्याट्रीलाई ईभी उद्योगको अर्को ठूलो प्रविधिगत फड्कोका रूपमा हेरिएको छ । अहिले चल्तीमा रहेका लिथियम आयन ब्याट्रीमा प्रयोग हुने तरल इलेक्ट्रोलाइटको सट्टा ठोस इलेक्ट्रोलाइटको प्रयोगबाट सोलिड स्टेट ब्याट्री बनाइन्छ । त्यसैले यसलाई सुरक्षित, उच्च ऊर्जा घनत्व हुने र तीव्र गतिमा चार्ज तथा डिस्चार्ज गर्न सकिने प्रविधि मानिन्छ ।

बीवाइडीले ‘डुअल-इलेक्ट्रोलाइट क्याथोड’ अवधारणामा सोलिड स्टेट ब्याट्री बनाउन लागेको हो । यसमा हलाइड र सल्फाइड नामक दुई फरक प्रकारका ठोस इलेक्ट्रोलाइटलाई एउटै क्याथोड संरचनामा प्रयोग गरिन्छ ।

कम्पनीका अनुसार यसले ब्याट्रीभित्र हुने रासायनिक प्रतिक्रिया नियन्त्रण गर्न, ऊर्जा प्रवाह सुधार गर्न तथा ब्याट्रीको आयु बढाउन मद्दत गर्नेछ ।

अहिले ठोस पदार्थहरू बीच राम्रो सम्पर्क कायम राख्न नसक्नु सोलिड स्टेट ब्याट्री विकासमा सबैभन्दा ठूलो चुनौती मानिन्छ । बीवाइडीले उक्त समस्या समाधान गर्न विभिन्न तहका बफर लेयर, आयन कन्डक्टिङ इन्टरलेयर र बहु-संरचनात्मक क्याथोड डिजाइन प्रयोग गर्ने जनाएको छ ।

कम्पनीले मोनोक्रिस्टल र पोलिक्रिस्टल क्याथोड सामग्रीलाई एउटै संरचनामा संयोजन गर्ने अवधारणालाई पनि पेटेन्टमा समावेस गरेको छ । बीवाइडीको दाबी अनुसार दुवै प्रविधिको संयोजनले ब्याट्रीको क्षमता, चार्जिङ प्रदर्शन र लाइफ सुधार हुनेछ ।

रिपोर्टहरूको दाबी मान्ने हो भने बीवाइडीले सन् २०२७ देखि सीमित मात्रामा डुअल-इलेक्ट्रोलाइट सोलिड-स्टेट ब्याट्री उत्पादन थाल्ने छ । त्यसपछि ती ब्याट्रीहरू सवारीसाधनमा प्रयोग गरेर परीक्षण हुनेछन् ।


Back_to_top