आइफोन बेच्ने कम्पनीले नेपाल ल्यायो नयाँ ईभी, मूल्य २१ लाख

काठमाडौं । नेपाली बजारमा चिनियाँ होनरी अटोमोबाइल ग्रुप अन्तर्गतको सबब्राण्ड भीअटो प्रवेश गरेको छ ।

नेपालमा एप्पल, एचपी, डाइसन, डेल लगायत ब्राण्डका उत्पादन बेच्दै आएको जेनेरेसन नेक्स्ट कम्युनिकेसन्स प्रालि अन्तर्गतको जेननेक्स्ट मोटर्सले भीअटोको होनरी बोमा ईभी नेपाल ल्याउने भएको हो ।

कम्पनीका अनुसार उक्त नयाँ मिनी ईभी साउन २६ गतेदेखि सुरू हुने नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक गरिने छ । कम्पनीले यस ५ ढोके ईभीको सुरुआती मूल्य २० लाख ९९ हजार ९९९ रुपैयाँ तोकेको छ ।

भीअटो होनरी बोमा ईभी आधुनिक, स्मार्ट तथा शहरी जीवनशैलीलाई मध्यनजर गर्दै डिजाइन गरिएको विशेष इलेक्ट्रीक मिनी कार हो । आधुनिक प्रविधि, उत्कृष्ट सुविधा र आकर्षक मूल्यको संयोजनले यो ईभी ग्राहकलाई उत्कृष्ट विकल्प बन्ने कम्पनीको विश्वास छ ।

३५ किलोवाटको इलेक्ट्रीक मोटर रहेको होनरी बोमा ईभीमा २९.९ किलोवाट आवरको ब्याट्री छ । जसले एकपटकको फुलचार्जमा ३०० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ । साधारण प्लगबाट यो गाडी फुलचार्ज हुन ७ घण्टा लागन्ेछ ।

५ सिट क्षमता भएको यो गाडी फराकिलो र आरामदायी इन्टेरियरका साथै कम्प्याक्ट, आकर्षक डिजाइनमा उपलब्ध छ । साँघुरा सडकमा पनि सजिलै चलाउन तथा पार्किङ गर्न मिल्ने भएकाले यो गाडी दैनिक कार्यालय आवतजावत, पारिवारिक प्रयोग तथा व्यक्तिगत यात्राका लागि उपयुक्त छ ।

कम्पनीका संचालक रक्षित भिमसारियाले भीअटो होनरी बोमा ईभी नेपाली उपभोक्ताको स्मार्ट, सुरक्षित, किफायती र वातावरणमैत्री यात्राको आवश्यकतालाई ध्यानमा राखेर ल्याइएको बताए ।

‘भीअटो होनरी बोमा ईभी नेपाली उपभोक्ताको स्मार्ट, सुरक्षित, किफायती र वातावरणमैत्री यात्राको आवश्यकतालाई ध्यानमा राखेर ल्याइएको हो । नाइमा नेपाल मोबिलिटी एक्स्पो मार्फत यसलाई पहिलो पटक नेपाली ग्राहकसमक्ष प्रस्तुत गर्न पाउँदा हामी उत्साहित छौं,’ उनले भने ।

उनले नेपालमा ईभीको पहुँच विस्तार गर्ने प्रतिबद्धता अनुसार जेननेक्स्ट मोटर्सले ग्राहकलाई उत्कृष्ट बिक्रीपछिको सेवा, स्पेयर पाट्र्सको सहज उपलब्धता र दक्ष प्राविधिक सहयोग प्रदान गर्ने बताए ।

इच्छुक ग्राहकहरूले नाइमामा होनरी बोमा ईभीको प्रत्यक्ष अवलोकन, फिचर बारे जानकारी लिन र टेस्ट ड्राइभका लागि दर्ता गर्न सक्ने कम्पनीले जनाएको छ ।


Back_to_top