काठमाडौं । भारतीय बजारको तुलनामा नेपालमा पहिल्यैदेखि धेरै कार ब्राण्ड थिए । विशेषगरी जापानी र यूरोपियन ब्राण्डको बलियो उपस्थिति रहेको नेपालमा कोरियन ब्राण्ड किया पनि भारतमा भन्दा पहिल्यै नेपाल आएको हो ।
सन् १९६७ देखि शोरुम नै निर्माण गरेर नेपालमा कारको बिक्री सुरु भएको देखिन्छ । त्यसको नेतृत्व टोयोटा र होन्डा जस्ता जापानी ब्राण्डले गरेका हुन् । पछि भारतमा उत्पादन भएका कार र एसयूभीले पनि राम्रो छाप छाड्न सफल भए । टाटा र महिन्द्रा जस्ता ब्राण्ड नेपालमा अहिले पनि निकै सफल मानिन्छन् ।
त्यसको करिब ५७ वर्षपछि समय फेरिएको छ । अब जापानी र भारतीय होइन, चिनियाँ उत्पादनको आयात र बिक्री दुबै तिब्र गतिमा विस्तार हुँदैछ । यस्तोमा पुराना खेलाडी कसरी रिङ आउट भए भन्ने प्रश्न सबैको मनमा आउने नै भयो । त्यसको सिधा उत्तर पनि टेक्नोलोजीको बेगलाई पुराना खेलाडीले बेवास्थाको परिणाम मान्न सकिन्छ ।
अझैपनि विश्वको ठूलो हिस्सा विद्युतीय कारमा विश्वस्थ नभएको कारण पुराना निर्माताको रोजाइमा ईभी नपरेको हो । होन्डा, टोयोटा, निसान, सुजुकी जस्ता ब्राण्डले ईभीलाई प्राथमिकतामा राखेनन् । त्यहि कारण नेपाल जस्तो सानो बजारमा ईभीको माग बढ्यो र चिनियाँ ब्राण्डको आयात वृद्धि भयो ।
केही वर्ष अगाडिसम्म नेपालमा धेरै कार बिक्री गर्ने कम्पनीको सूचीमा सुजुकी अगाडि आउँथ्यो । हुन्डाई दोस्रो, महिन्द्रा तेस्रो, टाटा चौथो, फोर्ड पाँचौ, किया छैटौं नम्बरमा थिए । अहिले पुरै बजार हिस्सा फेरिएको छ । केही वर्ष अगाडि सिनमै नभएको बीवाइडी पहिलो भएको छ ।
ईभीलाई चाँडो आत्मसात गरेको टाटाले नेपालमा राम्रै संख्यामा गाडी बिक्री गर्न सकेको छ । त्यहि कारण उसलाई नेपालमा फाइदा पुग्यो ।
हुन्डाई र किया जस्ता पुराना कोरियन ब्राण्डसँग कम मूल्यका ईभी उपलब्ध छैनन् । त्यसमा पनि महंगो मूल्यका कारण हुन्डाई र कियाले धेरै कार बिक्री हुने सेग्मेन्टमा आफुलाई राख्न सकेका छैनन् ।
बरु पछिल्ला दिनमा चीनबाट आयात भएका नेटा, ओमोडा, दिपल जस्ता ब्राण्डले आफुलाई बलियोसँग स्थापित गर्न थालेका छन् ।
के गर्दैछन् पुराना ब्राण्ड ?
सुजुकी नयाँ इलेक्ट्रीक मोडल कुरेर बसेको छ । कम्पनीले ईभीएक्स भारतमा बिक्री सुरु गर्ने वित्तिकै नेपाल ल्याउने गरी तयारी अवस्थामा सीजी मोटोकर्प रहेको छ । त्योसँगै अर्को इलेक्ट्रीक ह्याचव्याक ल्याएर पुनः आफ्नो गुमेको बजार फर्काउन कम्पनी लागि पर्ने देखिन्छ ।
महिन्द्रले केही दिन अघि मात्रै एक्सयूभी-४०० बजारमा उतारेको छ । त्यसपछि एक्सयूभी थ्रीएक्सओ, एक्सयूभी ई-९, ८, ७ जस्ता मोडल बजारमा ल्याउने गरी कम्पनीले काम गरिरहेको छ ।
हुन्डाईले पनि नयाँ वर्ष लागेसँगै नेपालमा क्रेटा ईभी ल्याउन तयारी थालेको छ । यहि वर्षको अन्त्यमा भारतमा बिक्री सुरु हुने क्रेटा ईभी नयाँ वर्ष २०२५ लागेसँगै नेपाल आउने छ ।
बजारमा बलियो छापछाडेका फक्सवागेन, स्कोडा, जीप, होन्डा, टोयोटा जस्ता ब्राण्डले तत्कालै ईभी ल्याउन सक्ने देखिदैन । बरु निसानले नयाँ आरिया मोडल नेपाल ल्याउन सक्ने देखिन्छ ।

