काठमाडौं । अर्को साता बजारमा आउन लागेका जिकर र एक्सपेङ ब्राण्डले प्रिमियम कार बजारमा उतार्दैछन् । जिकर चिनियाँ अटोमोवाइल कम्पनी जीली होल्डीङको सहायक कम्पनी हो । एक्सपेङ भने न्यू इनर्जी स्टार्टअप अटोमोवाइल कम्पनी हो ।
नेपालमा जिकर ब्राण्ड सारडा ग्रुप अन्तर्गतको पायोनियर अटोकर्पले ल्याएको छ । एक्सपेङ चौधरी ग्रुपको सीजी मोटर्सले ल्याएको हो । यी दुबै कम्पनीले थापाथलीमा शोरुम निर्माण गरिरहेका छन् ।
एक्सपेङ जी-६ कुपे डिजाइनमा तयार भएको छ । जिकर एक्स फास्टव्याक एसयूभी डिजाइनमा बनेको हो । एरोडायनामिक्सलाई विशेष ध्यान दिएर बनेका दुबै मोडलमा क्लोज फ्रन्ट ग्रिल, स्प्लीट हेडलाइट पाउन सकिन्छ ।
एक्सपेङमा कनेक्टेड एलइडी डीआरएल छ भने जिकर एक्समा भने भर्टिकल डिजाइनको एलइडी डिआरएल दिइएको छ ।
डायमेन्सन
साइजको कुरा गर्दा जिकर एक्सभन्दा एक्सपेङ जी-६ केही ठूलो गाडी रहेको छ । एक्सपेङ जी-६को लम्बाई, चौडाई र उचाई क्रमश ४७५३, १९२०, १६५० एमएम छ । जबकी जिकर एक्सको लम्बाई, चौडाई र उचाई क्रमशः ४४३२, १८३६, १५६६ एमएम मात्रै छ । तीन कुरामा जिकर एक्स सानो छ ।

एक्सपेङ जी-६ मा २८९० एमएम र जिकर एक्समा २७५० एमएम लामो ह्वीलवेस पाउन सकिन्छ । नेपाल आएको गाडीमा कति ग्राउन्ड क्लियरेन्स छ, त्यो जानकारी कम्पनीहरुले दिएका छैनन् ।
एक्सपेङ र जिकर दुबैमा १९ इन्चको ह्वील छ । एक्सपेङमा ५७१ लिटर र जिकर एक्समा ३६२ लिटरको बुट स्पेश पाउन सकिन्छ ।
ब्याट्री र मोटर
एक्सपेङमा ६८ र जिकरमा ६९ किलोवाट आवर ब्याट्री छ । एक्सपेङले लिथियम आयोन फस्फेट र जिकरले एनएमसी ब्याट्री प्रयोग गरेको छ । दुबै कारको ब्याट्रीमा लिक्वीड कुल्ड कुलिङ सिस्टम छ ।
रेन्ज पनि दुबैको लगभग यस्तै छ । एक्सपेङ जी-६ ले सिंगल चार्जमा ४३५ किलोमिटर र जिकर एक्सलाई ४४० किलोमिटर गुडाउन सकिने डब्लूएलटीपीले प्रमाणित गरेको छ । एक्सपेङले २८० किलोवाटसम्मको फास्ट चार्जर सपोर्ट गर्छ भने जिकर एक्सले १५० किलोवाटसम्मको फास्ट चार्जर सपोर्ट गर्छ ।
एक्सपेङमा २१० किलोवाटको इलेक्ट्रीक मोटर छ । उक्त मोटरले ४४० न्यूटन मिटरको टर्क जेनेरेट गर्छ । त्यस्तै जिकर एक्समा २०० किलोवाटको मोटर छ । यसको टर्क भने ३४३ न्यूटन मिटर छ । एक्सपेङलाई शून्यबाट १०० किलोमिटरको स्पीडमा गुडाउन ४.१ सेकेण्ड लाग्छ भने जिकरले यो स्पीड मात्र ३.८ सेकेण्डमा भेट्टाउँछ ।
इन्टेरियर डिजाइन
एक्सपेङ जी-६मा १५ इन्चको सेन्टर कन्ट्रोल स्कृन र १०.२ इन्चको ड्राइभर डिस्प्ले दिइएको छ । त्यस्तै, जिकर एक्समा १४.६ इन्चको सेन्टर स्कृन, ८.८ इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ल, हेडअप डिस्प्ले र रियरमा समेत क्लाइमेट सेटिङका लागि छुट्टै ५.७ इन्चको टचस्कृन दिएको छ ।
एक्सपेङ जी-६ मा मल्टी फङ्सनल २ स्पोक स्टेरिङ ह्वील, वायरलेस चार्जिङ प्याड, हिटेड एण्ड भेन्टीलेटेड फ्रन्ट सिट, पानारोमिक ग्लास रुफ, फ्रन्ट एण्ड रियर सेन्सर, ३६० डिग्री क्यामरा, १८ वटा स्पीकर, डिउल जोन क्लाइमेट कन्ट्रोल जस्ता क्याविन फिचर छन् ।

त्यस्तै जिकर एक्समा पनि हिटेड टु स्पोक मल्टी फङ्सनल स्टेरिङ ह्वील, वायरलेस फोन चार्जर, पावर ड्राइभर सिट, डिउल जोन एसी, हिटेड भेन्टीलेटेड मसाज ड्राइभर सिट, एन्टी यूभी अल ग्लास रुफ, यामाहाको १३ स्पीकर, भोइस एक्टीभेसन कन्ट्रोल र फेस रिकग्नीसन सिस्टम छन् ।
सुरक्षा फिचरहरु
सुरक्षाका लागि एक्सपेङ जी-६ मा ७ वटा एयरव्याग, २ लाइडार राडार, ५ एमएम वेभ राडार, १२ वटा क्यामरा, १२ सेन्सर, फरवार्ड रियर ल्याटरल कोलुजन वार्निङ, लेन किप असिस्ट पाउन सकिन्छ । साथै, लेन चेन्ज असिस्ट, लेन डिपार्चर वार्निङ, ट्राफिक जाम असिस्ट, इमर्जेन्सी ब्रेकिङ, हाइबिम असिस्ट, व्लाइण्ड स्पट अलर्ट जस्ता फिचर समाबेस गरिएको छ ।
त्यस्तै जिकर एक्समा पनि ७ वटा नै एयरव्याग, १ एमएम राडार, १५ वटा क्यामरा, १२ वटा सेन्सर, ड्राइभर पर्फमेन्स मोनिटर, फ्रन्ट क्रस ट्राफिक अलर्ट, ट्राफिक साइन इन्फर्मेसन, फ्रन्ट एण्ड रियर पार्किङ असिस्ट, रियर क्रस ट्राफिक अलर्ट, हाइबिम असिस्ट, लेन डिपार्चर वार्निङ, लेन सेन्टर असिस्ट, फर्वाड एण्ड रियर कोलुजन वार्निङ जस्ता फिचर छन् ।
दुबै कम्पनीले अहिलेसम्म यसको मूल्य बाहिर ल्याएका छैनन् । तर, नाडा अटो शोमा आउँदा दुबैको मूल्य लगभग समान हुनेछ । जिकरले भने भन्सार प्रयोजनको लागि ८९ लाख ९९ हजार मूल्य प्रकाशित गरेको छ ।


