काठमाडौं । चल्तीको ह्याचब्याक सेग्मेन्टमा नयाँ इलेक्ट्रीक कार आउने भएको छ । नयाँ आउने ‘एचईभी-३००’ले सिंगल चार्जमा ३३५ किलोमिटर रेन्ज दिने सिएलटीसीले प्रमाणित गरेको छ ।
एस क्यूब इन्टरप्राइजेजले नेपाल ल्याएको एचईभी-३०० नाडा अटो शो २०२४ मा प्रदर्शनी हुनेछ । कम्पनीले यसलाई २५ लाख ९९ हजार मूल्य निर्धारण गरेर बिक्री सुरु गर्ने तयारी गरिरहेको छ ।
‘अटो शोमा विशेष मूल्य अफर गर्ने योजना अनुसार २५ लाख ९९ हजारमा बिक्री गर्नेछौं । अटो शोपछि भने मूल्य २८ लाख हाराहारी पुग्छ होला’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।

ह्याचब्याक डिजाइनको ‘एचइभी-३००’ मोडलको लम्बाई ३७४० एमएम, चौडाई १६५५ एमएम र उचाई १५५० एमएम छ । यसमा २४१५ एमएमको ह्वीलबेस पाउन सकिन्छ ।
पाँच सिट क्षमताको भनेर बिक्री हुने कारमा आधुनिक फिचरहरूको लामै लिस्ट पाउन सकिन्छ । यसमा १०.२५ इन्चको फ्लोटिङ डिस्प्ले, जीपीएस नेभिगेशन, भ्वाइस रिकगनिशन, ओटा अपडेट दिइएको छ ।
कम्पनीले यसमा ३२.५६ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री दिएको छ । एचईभी-३०० कारमा ३५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर पाउन सकिन्छ । यसको पीकटर्क भने १२५ एनएम छ ।
कम्पनीले यसमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर वारेन्टी प्रदान गर्ने जनाएको छ ।


