काठमाडौं । चिनियाँ विद्युतीय कार धमाधम काठमाडौं आइपुग्न थालेका छन् ।
चीनसँगका मुख्य दुई व्यापारिक नाका तातापानी र रसुवागढी दुई महिनादेखि बन्द हुँदा गाडी आयात ठप्प भएको थियो । अहिले विकल्पमा कोरला नाकाबाट ईभी आउन थालेका हुन् । सडक बनेसँगै बुधबारदेखि तातोपानी नाकाबाट पनि आयात हुन थालेको छ ।
चाडपर्वको मुखमा आयोजना भएका नाइमा र नाडा दुई फरक अटो शोमा देखाइएका नयाँ गाडी राम्रो संख्यामा बुकिङ भएको थियो । तर, तातोपानी र रसुवागढी दुवै नाका बन्द हुँदा बिक्रेता समस्यामा परेका थिए ।
बैकल्पिक नाकाको रूपमा कोरला नाकाबाट पहिलो पटक गाडी आयात गरिएको छ । अहिले काठमाडौं आइरहेका गाडीहरू कोरोला नाका हुँदै आएका हुन् । अब तातोपानी नाका पनि खुला भएको छ । त्यसैले तातोपानी नाकाबाट पनि आजदेखि नयाँ गाडी जाँचपास सुरू भएको भन्सार विभागले जनाएको छ ।
खासगरी नयाँ मोडलको रूपमा अटो शोमा प्रदर्शनीमा राखिएको जेको जे-फाइभ, लीपमोटर बी-१०, बीवाइडी एटो वान र एटो टु कोरला नाका हुँदै नेपाल आएका हुन् । यसका अलावा अन्य धेरै नयाँ गाडीहरू तातोपानी नाकाबाट प्रवेश गर्ने तयारी गरिरहेका छन् ।
कोरलाबाट ल्याउनै कठिन
दशैंको मुखमा बुकिङ गरेर बसेका उपभोक्तालाई गाडी दिन सकिँदैन कि भन्ने चिन्ताको कारण बिक्रेताहरूले केही युनिट गाडी कोरला नाकाबाट नेपाल मगाएका थिए । खासगरी चीनतर्फ ४० किलोमिटर कच्ची र नेपालतर्फ पनि वर्षा र खराब बाटोका कारण कोरला नाकाबाट गाडी ल्याउन कठिन छ ।

‘ड्राइभर पाउनै मुस्किल, काठमाडौं या अन्य सहरबाट पठाउन पनि असहज भएको कारण अहिल्यै कोरला नाकाबाट गाडी ल्याउन सजिलो छैन । भविष्यमा पर्नसक्ने समस्यासँग जुध्न थप एक नाका तयार भएको भने मान्नुपर्छ । त्यही संकटमा करिब ४०० युनिट हाराहारी कार कोरला नाकाबाट आउने देखिन्छ,’ एक व्यवसायीले मेरोअटोसँग भने ।
मुस्ताङ जिल्लाको धेरै स्थानमा बाटो खराब रहेको छ । भौगोलिक विकटता र अन्य यातायातका साधनको कमजोर पहुँचको कारण कोरला नाका अहिल्यैको अवस्थामा चलाउन कठिन हुने व्यवसायीहरूको भनाइ छ ।
बाटो खराब, चार्जिङ पूर्वाधारको कमी, लामो बाटो जस्ता कारण गाडी आयातको लागि कोरला नाका उपयुक्त नभएको ब्यवसायीहरू नै बताउन थालेका छन् ।
तातोपानीबाट आयात सुचारु
झण्डै १५०० युनिट नयाँ विद्युतीय कार नेपाल आउने क्रममा छन् । धेरै गाडी ल्हासा क्षेत्रमै रोकिएका छन् । केही गाडी तातोपानी आउने बाटोमा लाइन लागेर बसेका छन् । बुधबारदेखि तातोपानी सडक खुलेसँगै धमाधम गाडी आउन थालेका छन् ।
यार्डमा आइपुगेका गाडी धमाधमा जाँचपास भइरहेको भन्सार कार्यालयले जनाएको छ । आयातकर्ताहरूले बजार माग, आफ्नो अर्डर र बुकिङ अनुसारको गाडी प्राथमिकतामा राखी ल्याउन थालेका हुन् ।

