काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा देशभरका दर्जनौं ट्राफिक बिट र कार्यालय जले । सँगै कार्यालय परिसरमा राखिएका सयाैं सवारी साधन र हजाराैं महत्वपूर्ण कागजात पनि खरानी भए ।
काठमाडौं उपत्यकाका मात्रै ३७ ट्राफिक कार्यालय ध्वस्त भएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सडक नियम उल्लंघन गर्नेलाई कारबाही गरी ती कार्यालयहरूमा राखिएका ६० हजार ८०० ब्लूबुक र लाइसेन्स जलेर नष्ट भएका छन् । देशभरका अरू कार्यालयको जोड्दा यो संख्या अझै धेरै हुन्छ ।
यससँगै अहिले हजारौं सवारीधनी र चालक कागजातबिहीन बनेका छन् । यातायात व्यवस्था विभागको सर्भरमा क्षति पुगेकाले नागरिक एपमा समेत लाइसेन्स हेर्न सकिँदै । जस कारणा चालकहरू समस्यामा परेका छन् ।
अहिले सवारीधनीमा जलेका ब्लूबुक र लाइसेन्स फेरि कसरी लिने ? प्रक्रिया के हुन्छ भन्ने अन्योलता देखिएको छ । हालसम्म केन्द्र र प्रदेश सरकारले जलेका ब्लूबुक र लाइसेन्स बारेमा कुनै निर्णय गरेको छैनन् । त्यसैले अब नियमित प्रक्रियाबाटै जलेका लाइसेन्स र ब्लूबुकको प्रतिलिपि लिनुपर्ने देखिन्छ ।
ब्लूबुक र चालक अनुमतिपत्र हराएमा, च्यातिएमा, झुत्रो भई नबुझिने भएमा वा कुनै कारणबाट नासिएमा प्रतिलिपी लिन सकिने कानुनी व्यवस्था छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी लोकेन्द्र सिंह गुरु सवारीधनीले ब्लूबुक र लाइसेन्स हराए वा नष्ट भएमा प्रतिलिपि लिनुपर्ने बताउँछन् । उनले आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित यातायात कार्यालयबाट प्रतिलिपि लिन सकिने बताए ।
‘सवारी साधनको ब्लू बुक र लाइसेन्सको अभिलेख यातायत व्यवस्था विभाग र कार्यालयहरूमा हुन्छ । यदि कसैले यी कागजपत्र हराएको वा नष्ट भएको छ भने प्रक्रिया पूरा गरी प्रतिलिपि लिनुपर्छ,’ उनले मेरोअटोसँग भने ।
सम्बन्धित ट्राफिक प्रहरी कार्यालयको सिफारिसमा यातायात कार्यालयबाट प्रतिलिपि लिनुपर्ने उनको भनाइ छ । यदि सवारीधनी वा चालक ट्राफिक कारबाहीमा परेको छ भने जरिवाना तिरेपछि मात्रै सिफारिस पाइने उनले बताए । ‘अनलाइन वा सम्बन्धित ट्राफिक कार्यालयमा गएर प्रतिलिपिका लागि सिफारिस लिन सकिन्छ । तर, कारबाहीमा परेको छ भने जरिवाना तिरेपछि मात्रै सिफारिस पाइन्छ,’ उनले भने ।
यातायात व्यवस्था कार्यालय सानाठुला सवारी, एकान्तकुनाका सूचना अधिकारी अम्बिक घिमिरेले ट्राफिकको सिफारिमा सवारी दर्ता भएको कार्यालयबाट ब्लूबुक र जारी भएको कार्यालयबाट लाइसेन्सको प्रतिलिपि लिन सकिने बताए ।
उनले प्रतिलिपि लिन ट्राफिकको सिफारिस, हराएको कागजपत्रको प्रतिलिपि, सक्कल नागरिताकासहित व्यक्ति स्वयम् उपस्थित हुनुपर्ने बताए । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरी कार्यालय (बग्गिखाना) र उपत्यका बाहिर कागजात हराएको जिल्ला स्थित ट्राफिक प्रहरी कार्यालयबाट सिफारिस लिनुपर्ने छ ।
यदि कुनै यातायात कार्यालय वा सवारीधनीसँग भएको फाइल पनि हराएको/जलेको रहेछ भने नयाँ फाइल खडा गरी ब्लूबुकको प्रतिलिपि दिइने उनले बताए ।
‘सामान्यतया ट्राफिकको सिफारिसमा यातायात कार्यालयमा भएको फाइलका आधारमा ब्लूबुकको प्रतिलिपि दिइन्छ । यदि ती फाइल पनि नष्ट भएको अवस्थामा भन्सार प्रज्ञापनपत्र, आयातकर्ता कम्पनीसँग विवरण लिई नयाँ फाइल खडा गरेर ब्लूबुकको प्रतिलिपि दिइन्छ,’ उनले मेरोअटोसँग भने ।
लाइसेन्सको विवरण सर्भरमै हुने भएकाले प्रतिलिपि बनाउन समस्या नहुने उनले बताए । ब्लूबुकको प्रतिलिपि लिन दुईपाँग्रे सवारी साधनको ५०० रुपैयाँ र चारपाँग्रेको १ हजार रुपैयाँ शुल्क लाग्छ । त्यस्तै, लाइसेन्सको हकमा भने ५०० रुपैयाँ लाग्छ ।

