ट्राफिक कार्यालयसँगै जले ६१ हजार ब्लूबुक र लाइसेन्स

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेन जी आन्दोलनको क्रममा काठमाडौं उपत्यकाका ट्राफिक कार्यालयहरूमा आगजनी हुँदा झण्डै ६१ हजार ब्लूकबुक र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जलेको पाइएको छ ।

ट्राफिक प्रहरीले नियम उल्लंघन गर्नेलाई कारबाही गरी विभिन्न कार्यालयहरूमा राखेका ६१ हजार ब्लूबुक र लाइसेन्स जलेका हुन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी लोकेन्द्र सिंह गुरुले आगजनीमा परी ६० हजार ८०० लाइसेन्स तथा ब्लूबुक जलेको जानकारी दिए ।

उनका अनुसार उपत्यकामा रहेका ७८ ट्राफिक कार्यालय मध्ये ५८ वटामा आगजनी तथा तोडफोड भएको छ । ती मध्ये ३७ वटा कार्यालय पूर्ण रुपमा क्षति भएको उनले बताए ।

‘उपत्यकाका ७८ मध्ये ३७ कार्यालयहरू पूर्ण रुपमा जलेका छन् । तिनै कार्यालयमा राखिएका झण्डै ६१ हजार लाइसेन्स र ब्लूबुक जलेर खरानी भएका हुन्,’ उनले मेरोअटोसँग भने ।

अब कारबाहीमा परेका चालहरूले जरिवाना तिरी ट्राफिकको सिफारिसमा सम्बन्धित यातायात कार्यालयबाट ब्लूबुक र लाइसेन्सको प्रतिलिपि लिन सक्ने उनले बताए ।

काठमाडौं उपत्यकामा ट्राफिक कार्यालयहरू बाहेक थप २० हजार लाइसेन्स पनि जलेका छन् । यातायात व्यवस्था विभागले छापेर वितरण गर्न राखेका २० हजार लाइसेन्स जलेका हुन् ।


Back_to_top