कर बढेपछि ३५६ यूनिट इलेक्ट्रीक कार जोखिममा, कुन कम्पनीको कति अड्किए

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटबाट इलेक्ट्रीक कारको भन्सार, अन्तःशुल्क र सडक दस्तुमा वृद्धि गरेसँगै विद्युतीय कारको भविष्य अन्योलमा परेको छ ।

अहिले विभिन्न कम्पनीले नेपाल ल्याउन एलसी खेलेर प्रकृया अगाडि बढाएका ३५६ यूनिटभन्दा बढी गाडीको भविष्य अन्योल भएको छ । विभिन्न कम्पनीले ल्याएका मगाएका ११२ यूनिट गाडी भन्सारमा आइपुगेका छन् । हुन्डाई मोटर्सको इलेक्ट्रीक कोना २७ यूनिट र ४५ यूनिट कियाको निरो भन्सार आइपुगिसकेको छ भने बिवाइडीका ४० इलेक्ट्रीक कार पनि भन्सार पारी थन्किएका छन् ।

त्यसैगरि एलसी खोलेर आउने क्रममा रहेका एमजीका २०१ यूनिट इजेडएस, हुन्डाईको कोना र आयोनिक गरेर ४३ यूनिट, दाय, महिन्द्राका केही यूनिट कारपनि रोकिएको अवस्था छ ।

अधिकांश इलेक्ट्रीक कार ग्राहकसँग बुकिङ लिएर कम्पनीहरुले मगाएको कारण अहिले आयातकर्ता कम्पनीहरु समस्यामा परेका छन् । ग्राहकले बढी मूल्य तिर्न नसक्ने र ती गाडी भन्सार छुटाएर ल्याउँदापनि बिक्री गर्न नसक्ने अवस्था रहेकाले गाडी आयातकर्ताहरु के गर्ने भन्ने अन्योलमा रहेका छन् ।

‘गाडी भन्सारमा आएको छ । छुटाउन सबै लाग्ने राजस्व तिर्नु पर्छ । तर, बढेको मूल्यमा गाडी किन्न ग्राहक तयार छैनन् । अनि गाडी ल्याएर के गर्नु’, एक अटो बिक्रेताले मेरोअटोसँग भने ।

अहिलेको मूल्यको तुलनामा करिब १०० प्रतिशत सम्मले मूल्य बढ्ने भएपछि इलेक्ट्रीक कार बिक्री गर्न कठिन अवस्था आएको बिक्रेताहरुको भनाई छ ।

कति बढ्यो कर

सरकारले यसअघि इलेक्ट्रीक कारमा १० प्रतिशत भन्सार, १३ प्रतिशत भ्याट र ४ प्रतिशत सडक निर्माण दस्तुर लगाउँदै आएको थियो । तर, जेठ १५ गते आएको आर्थिक वर्ष २०७७/७८ को बजेटले विद्युतीय कारमा ८० प्रतिशत भन्सार कायम गर्दै त्यसमा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको थियो । यसको मतलव इलेक्ट्रीक कारमा ४० प्रतिशत भन्सार महशुल लाग्ने छ ।

त्यसैगरि यसअघि अन्तःशुल्क लगाईएको थिएन । तर, यसपटकको बजेटले विभिन्न तह निर्माण गरेर अन्तःशुल्क लगाएको छ । तह निर्माण गर्दा इलेक्ट्रीक कारको मोटरलाई मुख्य आधार बनाइएको छ ।

५० किलोवाट क्षमतासम्मको मोटर प्रयोग भएका कारमा ३० प्रतिशत अन्तःशुल्क लगाइएको छ भने ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका मोटर प्रयोग भएका कारमा ४० प्रतिशत अन्तःशुल्क लाग्ने छ ।

१०१ किलोवाटदेखि १५० किलोवाटसम्मको मोटर प्रयोग भएमा ५० प्रतिशत, १५१ किलोवाटदेखि २०० किलोवाटसम्मका सवारीमा ६०, २०१ देखि २५० किलोवाटसम्मका मोटर भएको गाडीमा ७० र २५१ देखि माथि क्षमताका मोटर भएका कारमा ८० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरेको छ ।

अहिले नेपालमा बिक्री हुँदै आएको महिन्द्रा र दिगो ग्रुपका गाडीमा ५० किलोवाट क्षमताको मोटर प्रयोग भएको छ भने ३९.२ किलोवाट आवरको व्याट्री रहेको हुन्डाई कोना र आयोनिकमा १०० किलोवाट क्षमताको मोटर रहेको छ ।

एमजी इजेडएसमा १२ किलोवाट क्षमताको मोटर रहेको भने ६४ किलोवाट आवरको व्याट्री रहेको किया निरो र हुन्डाई कोनामा १५० किलोवाट क्षमताको मोटर प्रयोग भएको छ ।

साथै, यसअघि लाग्दै आएको ४ प्रतिशत सडक निर्माण शुल्कपनि १ प्रतिशतले बढाइएको छ ।

कस्तो होला नयाँ मूल्य

अहिले बजारमा बिक्री भइरहेको ६४ किलोवाट क्षमताको कोना र निरोको मूल्य करिब ३६ हजार डलर मान्दा त्यसको बिक्री मूल्य यहाँ करिब ६६ लाख रुपैयाँ थियो । अब बढेको मूल्यमा आउदा यो गाडीको मूल्य १ करोड ३० लाख रुपैयाँ पर्ने छ । यी दुबै गाडीमा १५० किलोवाट क्षमताको मोटर प्रयोग भएको छ । यसको मतलव यी गाडीको मूल्य दोव्वर हुने छ ।

१०० किलोवाट क्षमताको मोटर प्रयोग भएको आयोनिक र कोनाको मूल्य करिब ९० लाख रुपैयाँ पर्ने अनुमान गर्न सकिन्छ । यी गाडीमा ठूलो मोटरको गाडीको तुलनामा १० प्रतिशत भन्सार शुल्क कम लाग्ने छ ।

यही मूल्यको हाराहारीमा एमजी इजेडएसपनि आउने छ ।


Back_to_top