अर्को वर्षबाटै विद्युतीय कार पेट्रोलभन्दा सस्तो हुने

काठमाडौं । विद्युतीय कारको मूल्य ३० देखि ४० प्रतिशतसम्मले घट्ने नयाँ प्रक्षेपणहरु बाहिर आएका छन् । अमेरिकी रिसर्च संस्था केल्ली ब्लू बुकका अनुसार सन् २०२५ को अन्त्यसम्मा ईभीहरु पेट्रोल कारभन्दा सस्तो हुने रिपोर्ट सार्वजनिक गरेको हो ।

सन् २००८ देखि २०२४ अन्त्यसम्म १६ वर्षको अन्तरालमा विद्युतीय साधनले प्रयोग गर्ने हाइभोल्टेज ब्याट्रीको मूल्यमा ८९ प्रतिशतले गिरावट आएको देखिन्छ । सन् २००८ मा प्रति किलोवाट आवर लिथियम ब्याट्रीको मूल्य एक हजार ४१५ डलर थियो । अहिले त्यो घटेर १५१ डलरमा सिमित भएको छ ।

याहु फाइनान्सका अनुसार सन् २०२४ मा रहेको प्रतिकिलोवाट १५१ डलरबाट ४० प्रतिशतले मूल्यमा गिरावट आउने छ । त्यसपछि ब्याट्री भेहिकलको मूल्य कम्बस्चन इन्जिनको तुलनामा सस्तो पर्नेछ । यसअघि अन्तर्राष्ट्रिय काउन्सील अन क्लिन ट्रान्सपोर्टको अध्ययनले सन् २०२९ सम्ममा ईभी र आइसीई भेहिकलको मूल्य बराबर हुने देखाएको थियो ।

यो अमेरिकी संस्थाहरुले ६ वर्षपछि भेट्टाउने दावी गरेका विषयमा चिनियाँ उत्पादकहरुले पहिल्यै सफलता पाइसकेका छन् । अहिले चीनमा औषत ईभीको लागत ३० हजार डलरभन्दा कम छ । जबकी, अमेरिकी उत्पादकको औषत लागत ५६ हजार डलर रहेको रिपोर्टमा उल्लेख गरिएको छ ।

एउटा विद्युतीय कार बनाउन लाग्ने कुल खर्चमा ब्याट्रीको लागत २५ देखि ३५ प्रतिशतसम्म हुने गरेको अध्ययनले देखाएको छ । त्यसैले केही सोधकर्ताहरु ब्याट्रीको मूल्यलाई मात्रै ईभीको उत्पादन लागत घटाउने विषयसँग जोड्न नमिल्ने बताउँछन् ।

विश्व बजारमा ईभीको मूल्य खुबै चासो भइरहेको भएपनि नेपालमा अहिल्यै ईभीहरु पेट्रोल कारको तुलनमा आधा सस्तोमा किन्न पाइन्छ । त्यसो हुनुको मुख्य कारण नेपाल सरकारले लिएको नीति हो ।


Back_to_top