काठमाडौं । टाटा पन्च ईभीले नेपाली बजारमा अन्य तीन मोडलसँग सिधा प्रतिस्पर्धा गर्नु पर्ने देखिएको छ । माइक्रो एसयूभी सेग्मेन्टमा नेपाल आएको पन्च ईभीको मुख्य प्रतिस्पर्धी सिट्रोन ईसीथ्री, बीवाइडी डल्फीन र नामी-०१ गरी तीन मोडलसँग हुने भएको हो ।
बीवाइडी डल्फीन र नामी-०१ ह्याचव्याक डिजाइनमा फिचर लोडेड कार हुन् । यी दुबै चिनियाँ कारसँग मूल्यको कारण पन्च ईभीले प्रतिस्पर्धा गर्नु पर्ने देखिएको हो । अहिलेसम्म सिप्रदी ट्रेडिङले पन्च ईभीको मूल्य बाहिर ल्याएको छैन ।
डल्फीन ह्याचव्याकको मूल्य ४१ लाख १५ हजार रुपैयाँ रहेको छ । अन्य तीन प्रतिस्पर्धीभन्दा ठूलो साइज, प्रिमियम फिचर र बीवाइडीको ब्लेट ब्याट्री भएको कारण डल्फीन महंगो र प्रिमियम लाग्छ ।
नामी-०१ को पनि अहिलेसम्म मूल्य बाहिर आएको छैन । तर, यसको साइज पनि पन्चभन्दा ठूलो छ । फिचरमा पनि कम्पनीले कुनै कन्जुसाई गरेको देखिदैन । यसको मूल्य पनि ३० देखि ४० लाख भित्रै हुने देखिन्छ ।
सिट्रोन ईसीथ्री नेपालमा बिक्री सुरु भएको एक वर्षभन्दा बढी समय हुन लागेको छ । साइजको आधारले टाटा पन्च ईभीभन्दा ठूलो ईसीथ्री एसयूभी डिजाइनमा उपलब्ध मोडल हो । यसलाई ३५ लाख ९९ हजार मूल्य तोकेर कम्पनीले बिक्री गर्दै आएको छ ।
टाटाले पन्च ईभी पनि ३३ लाखदेखि ४० लाखसम्म मूल्य तोकेर ल्याउने अनुमान गर्न सकिन्छ । त्यसैले यी चार मोडल बीच बजारमा राम्रै प्रतिस्पर्धा हुने अनुमान लगाउन सकिन्छ ।
ब्याट्री र मोटर साइज
टाटा नेक्सन ईभीमा २५ र ३५ किलोवाट आवरको दुई ब्याट्री अप्सन उपलब्ध छ । अहिले नेपाल आएको पन्च ईभीमा ३५ किलोवाट क्षमताको ब्याट्री रहेको छ । पन्च ईभीमा ९० किलोवाट क्षमताको मोटर रहेको छ ।
नामी-०१ मा ४२.२ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्याक दिइएको छ । यसमा ७० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर पाउन सकिन्छ ।
बीवाइडी डल्फीनमा ४४.९ किलोवाट आवरको ब्लेड ब्याट्री दिइएको छ । यसमा कम्पनीले ७० किलोवाट पीकपावर भएको मोटर जडान गरिएको छ ।
सिट्रोन ईसीथ्रीमा २९.२ किलोवाट आवर क्षमताको ब्याट्री प्रयोग भएको छ । यसमा केबल ४२ किलोवाटको मोटर रहेको छ । समग्रमा यी ४ मोडल मध्ये सबैभन्दा धेरै रेन्ज बीवाइडी डल्फीनले दिनेछ ।
अन्य फिचर
टाटा पन्च ईभी डेडिकेटेड प्लेटफर्ममा बनेको कारण यसले जुनसुकै प्योर ईभीलाई टक्कर दिनसक्छ । भारतीय निर्माताले पन्च ईभीलाई निकै फ्यूचस्टीक बनाउने प्रयास गरेको छ ।
टप भेरियन्टमा उपलब्ध ३६० डिग्री क्यामेरा दिइएको पन्च ईभीमा १०.२४ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, क्लोज फ्रन्ट ग्रिल, १०.२४ इन्चकै टचस्क्रीन इन्फोटेन्टमेन्ट सिस्टम, इलेक्ट्रोनिक्स पार्किङ ब्रेक जस्ता फिचर छन् ।
त्यसैगरी, पन्च ईभीलाई प्रिमियम बनाउन कम्पनीले लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, कनेक्टेड डे टाइम रनिङ लाइट, ब्लाइन्ड स्पट भ्यू मिरर, एयर प्युरिफायर जस्ता फिचर दिएको छ ।
सुरक्षामा अब्बल
यहाँ तुलना गरिएका ईभी मध्ये सबैभन्दा सुरक्षीत गाडी बीवाइडी डल्फीन र टाटा पन्च हो । डल्फीनले यूरो एनक्यापमा ५ स्टार सेफ्टी रेटिङ पाएको छ । भारत एनक्यावमा पन्च ईभी ५ स्टार रेटिङ पाएको हो ।
टाटाले आफ्नो सानो इलेक्ट्रीक एसयूभीको सबै भेरियन्टमा ६ वटा एयरव्याग, एबीएस, इएससी, सबै सिटमा थ्री पोइन्ट सिटबेल्ट, आइएसओफिक्स माउण्ट जस्ता फिचर स्ट्याण्डड रुपमा दिएको छ ।

