काठमाडौं । बजाजको १५० सीसी सेग्मेन्टमा सबैभन्दा पावरफुल तथा स्पोर्टी डिजाइनमा तयार भएको मोटरसाइकल ‘पल्सर एन १५०’ मासिक ६ हजारभन्दा कम किस्तामै किन्न सकिने भएको छ । कम्पनीले ल्याएको ‘लो इएमआई स्कीम’ अन्तर्गत ग्राहकले मासिक ५ हजार ९७६ रुपैयाँ तिरेर पल्सर एन १५० किन्न सक्ने छन् ।
बजाजले केही समय अघि मात्र सार्वजनिक गरेको पल्सर एन १५० को मूल्य ३ लाख ५९ हजार ९०० रुपैयाँ रहेको छ । लो इएमएआई स्कीममा मोटरसाइकल किन्ने ग्राहकले ३६ महिनासम्मको किस्ता अवधि पाउने छन् ।
कम्पनीको नयाँ स्कीममा मोटरसाइकल किन्नेले सुरूमा मूल्यको ५० प्रतिशतले हुन आउने रकम डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ । त्यस पश्चात बाँकी रकम ३६ महिनाको किस्तामा बुझाइसक्नु पर्ने हुन्छ ।
यस स्कीममा लिइएको ५० प्रतिशत रकममा १२ प्रतिशत ब्याज लाग्नेछ । सुरूमा ग्राहकले १ वर्षको इन्स्योरेन्स र ५० प्रतिशत डाउन पेमेन्ट हुन आउने १ लाख ८७ हजार ७७५० रुपैयाँ बुझाउनु पर्ने हुन्छ । यस पश्चात मासिक ५ हजार ९७७ रुपैयाँ बुझाएर पल्सर एन १५० स्पोर्टी मोटरसाइकल चढ्न सकिने छ ।
यस्तो छ पल्सर एन १५०
बजाज पल्सर एन १५० मा १४९.६८ सीसी क्षमताको फोर स्ट्रोक, सिंगल सिलिन्डर, एयरकुल्ड, एफआइ इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम १४.५ ब्रेकहर्स पावर र १३.५ एनएमको पीक टर्क जेनेरेट गर्छ । यसमा पाँच स्पीड गियरबक्स छ ।
मस्कुलर डिजाइनको एन १५० मोटरसाइकलमा अगाडि टेलिस्कोपिक फर्क र पछाडि सिंगल मोनोसक दिइएको छ । यसको ब्रेकिङ मजबुत बनाउनका लागि अगाडि २४० एमएम डिस्कब्रेकसंगै एबीएस समेत दिएको छ ।
पल्सर एन १५० मा इन्फिनिटी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, चार्जिङ पोर्ट, एबीएस जस्ता फिचर छन् ।

