काठमाडौं । निजी क्षेत्रले विद्युतीय गाडी चार्जरमा गरेको लगानीले यात्रालाई सजिलो बनाएको छ । काठमाडौंबाट पूर्वी तराईको यात्रामा निस्कदा होस् या पश्चिम क्षेत्रको यात्रा ईभीमा गर्न निकै सजिलो भइसकेको देखिन्छ ।
दुई वर्ष अगाडि ईभीमा यात्रा गर्दा धेरै चालकको चिन्ता र चासो कति घण्टा चार्जिङ स्टेशनमा लाइनमा बस्नु पर्ने हो भन्ने विषयमा हुन्थ्यो । अहिले त्यो चिन्ता हटेको छ । राजमार्गमा जडान भएका चार्जरले सबैलाई ढुक्क बनाएको छ ।
यो ढुक्क बनाउने काममा यहाँ गाडी ल्याएर बिक्री गर्ने बिक्रेता र सरकारको भन्दा ठूलो भूमिका राजमार्गमा खुलेका साना खाना र खाजा पसलेको देखिन्छ । साना होटल र रेस्टुरेन्ट चलाउनेहरू आफ्नै लगानीमा चार्जर बनाइरहेका छन् ।
धादिङको धार्के, मलेखुदेखि चितवनको इच्छामनकामना गाउँपालिका भित्र हाइवेमा खुलेका धेरै होटलहरूमा डीसी फास्ट चार्जर जडान भएका छन् । आफ्नो गाडी चलाउँदै जाँदा एक कप कफी वा चिया पिउने समयमा पनि १० देखि २० प्रतिशतसम्म चार्ज थप्न सकिने भएको कारण ईभी लिएर हिड्नेहरू ढुक्क देखिन्छन् ।
‘ईभी चार्ज गर्ने सुविधा छैन भने ग्राहक नै गुमाउनु पर्ने अवस्था बन्यो । त्यसैले नयाँ होटल बनाउँदा नै ईभी चार्जर राख्नु पर्ने बाध्यता जस्तै छ,’ गल्छीमा होटल चलाइरहेका सरोज अधिकारीले भने ।

कुरिनटारमा रहेको बाह्रसिंगे बियर गार्डेनमा पनि कार चार्ज गर्न डीसी चार्जर राखिएको छ । उक्त चार्जरमा दैनिक ३० देखि ४० गाडीसम्मले सेवा लिने त्यहाँ कार्यरत कर्मचारी बताउँछन् ।
‘यहाँ त्यसरी फुल चार्ज गर्नेगरी धेरै बस्नुहुन्न । परिवार सहित घुम्न हिँडेका मानिस आउनु हुन्छ । यहाँ रेस्टुरेन्टमा आधाघण्टा बिताउँदा चार्ज गरेर जानुहुन्छ । त्यसले समय बचेको उपभोक्ताको प्रतिक्रिया हामीले पाएका छौं,’ त्यहाँ कार्यरत एक कर्मचारीले भने ।
माथिका दुई स्थान प्रतिनिधि स्थान मात्रै हुन् । देशभर हरेक ३० देखि ४० किलोमिटरमा संख्यात्मक रूपमा धेरै डीसी चार्जर पाउन सकिन्छ । एक वर्ष अगाडिसम्म एउटा चार्जर पनि नभएको इलाकामा समेत अहिले संख्यात्मक रूपमा धेरै चार्जर जडान भइसकेका छन् ।
एक वर्ष अगाडि भिमानबाट पूर्व जानेले बेलकामा मात्रै चार्जर भेट्थे । अहिले कटारी, गाइघाट जस्ता सहरमा छ्यापछ्याप्ती चार्जर पाइन्छ । पोखरा जाने बाटोमा पनि त्यस्तै छ । नारायणगढ-बुटवल र बुटवल-महेन्द्रनगरको बाटोमा पनि त्यसैगरी चार्जर खुलेका छन् ।
२ हजारभन्दा बढी चार्जर
अघिल्लो सातासम्म करिब २ हजार गन डीसी चार्जर जडान भइसकेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । जुन बाटोमा हिँड्दा पनि अनुभव गर्न सकिन्छ ।
अहिले जडान भएका चार्जर सीसीएस टु र जीबीटी दुवै किसिमका गन भएका छन् । जीबीटी चार्जिङ गन धेरैजसो कमर्शियल गाडीले प्रयोग गर्दै आएका कारण संख्यात्मक रूपमा धेरै छन् । विकट एरियामा पनि जीबीटी चार्जर पाउन सकिन्छ ।
सीसीएस टु चार्जर पनि राम्रै संख्यामा छन् । कार बिक्रेता, नेपाल सरकार र राम्रा होटल तथा रेस्टुरेन्टले पनि सीसीएस टु चार्जरलाई प्राथमिकतामा राखेर काम गरेको कारण देश यात्राको लागि ईभी निकै सहज भएको छ ।

