जनवरीमा आन्तरिक हवाई कम्पनीले बोके सवा ३ लाख यात्रु, कुनले कति ?

काठमाडौं । सन् २०२६ जनवरीमा करिब सवा ३ लाख जनाले आन्तरिक उडान मार्फत हवाई यात्रा गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको तथ्यांक अनुसार जनवरीमा आन्तरिक वायु सेवा कम्पनीहरूले कुल ३ लाख १८ ५४८ जना यात्रुलाई सेवा दिएका हुन् ।

जनवरीमा हेलिकप्टर सहित कुल २० एयरलाइन्स कम्पनीले उडान सेवा प्रदान गरेको विमानस्थलको तथ्यांक छ । त्रिभुवन विमानस्थलबाट १ लाख ६२ हजार २३१ प्रस्थान र १ लाख ५६ हजार ३१७ आगमन भएको तथ्यांक छ ।

कार्यालयका अनुसार जनवरीमा आन्तरिकतर्फ कुल ६ हजार ८०९ उडान–अवतरण भएको छ । जसमा ३ हजार ४०३ प्रस्थान र ३ हजार ४०६ अवतरण भएका छन् ।

जनवरीमा सबैभन्दा धेरै यात्रु बुद्ध एयरले बोकेको छ । बुद्ध एक्लैले कुल यात्रुको ५५ प्रतिशत अर्थात् १ लाख ७५ हजार ६१५ यात्रुलाई सेवा दिएको छ । बुद्ध एयरमार्फत ८९ हजार ९५३ यात्रु काठमाडौं बाहिर प्रस्थान गरेका थिए भने ८५ हजार ६६२ काठमाडौं आएका थिए ।

धेरै यात्रु बोक्नेमा श्री एयरलाइन्स दोस्रो स्थानमा छ । श्रीले जनवरीमा ६९ हजार ६१२ यात्रुलाई सेवा दिएको छ । श्रीबाट ३५ हजार ५३५ यात्रु प्रस्थान गरेका छन् भने ३४ हजार ७७ यात्रु काठमाडौं आएका छन् ।

तेस्रो स्थानमा यती एयरलाइन्स रहेको छ । यतिले एक महिनामा ६६ हजार ७७४ यात्रुलाई सेवा दिएको छ । जसमा ३३ हजार ८९९ यात्रु काठमाडौंबाट प्रस्थान र ३२ हजार ८७५ आगमन भएका छन् ।

चौथोमा नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स रहेको छ । नेपाल एयरलाइन्सले जनवरीमा २ हजार १४९ जनालाई मात्र सेवा दिन सकेको छ । नेपाल एयरलाइन्सबाट १ हजार ७० जना प्रस्थान गर्दा १ हजार ७९ जना काठमाडौं आएका छन् ।

पाँचौं स्थानमा रहेको तारा एयरले १ हजार २०९ यात्रुलाई सेवा दिएको तथ्यांक छ । बाँकी ३ हजार १८९ यात्रु हेलिकप्टरसहित अन्य कम्पनीले बोकेका छन् ।

जनवरीमा त्रिभुवन विमानस्थलबाट कुल ७ लाख ५० हजार १८३ यात्रुले यात्रा गरेका छन् । जसमा ४ लाख ३१ हजार ६३५ अन्तर्राष्ट्रिय हवाई यात्रु रहेका छन् ।


Back_to_top