प्रिमियम ईभी खोज्नेलाई तान्ने XEV 9e, यी ५ कारण उत्कृष्ट

काठमाडौं । विद्युतीय कार खोज्नेले प्रसस्तै विकल्प पाउन थालेका छन् । केही महिना अगाडिसम्म चिनियाँ ब्राण्डका मात्रै प्रिमियम ईभी मोडल उपलब्ध रहेकोमा अब भारतबाट पनि आउन थालेका छन् ।

महिन्द्राको आधिकारिक बिक्रेता अग्नी इनकर्पोरेट प्रालिले नाइमा मोबिलिटी एक्स्पो २०२५ बाट बिक्री थालेको ‘एक्सईभी नाइन ई’ भारतमा बनेको प्रिमियम इलेक्ट्रीक एसयूभी खोज्नेलाई एक उत्कृष्ट विकल्प हुनसक्छ । ईभीमा बढ्दो चासोलाई कुनै कसर बाँकी नराखिकन महिन्द्राले यसलाई तयार पारेको छ ।

विभिन्न तीन भेरियन्टमा उपलब्ध एक्सईभी नाइन ई दुई फरक ब्याट्री अप्सनमा उपलब्ध छ । यसमा ५९ किलोवाट आवर र ७९ किलोवाट आवरको ब्याट्री दिइएको छ ।

सानो ५९ किलोवाट आवरको ब्याट्रीसँग ९९ किलोवाटको मोटर छ भने यसको दुई भेरियन्ट किन्न पाइन्छ । इन्ट्री भेरियन्ट प्याक टुको मूल्य ६९ लाख रुपैयाँ तोकिएको छ ।

सानो ब्याट्रीमै उपलब्ध प्याक थ्री भेरियन्टको मूल्य ७७ लाख २५ हजार रुपैयाँ छ । यो सानो साइजको ब्याट्रीमा उपलब्ध टप भेरियन्ट हो । दुई भेरियन्टको बीचमा ११ लाख २५ हजार रुपैयाँ मूल्य फरक तोकिएको छ ।

महिन्द्राले ७९ किलोवाट आवरको विशाल ठूलो ब्याट्रीसँग १९९ किलोवाटको निकै पावरफुल इन्जिन दिएर ल्याएको छ । यसको मूल्य ९५ लाख रुपैयाँ कायम गरेर बिक्री हुँदै आएको छ ।

महिन्द्राको दाबी अनुसार सानो ब्याट्री भएको भर्सनले ५२२ किलोमिटर र ठूलो ब्याट्रीले ६५६ किलोमिटर सिंगल चार्जमा रेन्ज पाइनेछ । यसका अलावा गाडीलाई उत्कृष्ट बनाउने ५ विषयका बारेमा यहाँ चर्चा गरिएको छ ।

१. ठूलो साइज : एक्सईभी नाइन ईको लम्बाइ ४७८९ एमएम, चौडाइ १९०७ एमएम र उचाइ १६९४ एमएम छ । ठूलो साइजको एसयूभी खोज्नेलाई यसले लोभ्याउने छ । यसमा २७७५ एमएम लामो ह्वीलबेस पाउन सकिन्छ ।

महिन्द्राले प्योर ईभी प्लेटफर्ममा तयार पारेको एक्सईभी नाइन ईमा अगाडि १५० लिटरको फ्रंक र पछाडि ६६३ लिटरको बुट स्पेश दिएको छ । अर्को २०७ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स यसको बलियो पक्ष हो ।

२. इन्डिपेन्डेन्ट सस्पेन्सन : महिन्द्राले एक्सईभी नाइन ईमा सबै चक्कामा इन्डिपेन्डेन्ट सस्पेन्स दिएको छ । अगाडि स्टेपलाइजर बारसहितको म्याकफर्सन स्ट्रट आई-लिंक इन्डिपेन्डेन्ट सस्पेन्सन दिइएको छ ।

पछाडि पनि स्टेबलाइजर बारसहितको मल्टी लिंक इन्डिपेन्डेन्ट सस्पेन्स प्रयोग भएको छ । जसले यात्रालाई निकै उत्कृष्ट बनाउने छ । कम्पनीका अनुसार यसमा प्रयोग भएको सस्पेन्स इन्टेलिजेन्ट एडाप्टिभ प्रविधिमा आधारित हो ।

३. सेग्मेन्ट लिडिङ फिचरहरू : एक्सईभी नाइन ई एसयूभीको ड्यासबोर्डमा तीन स्क्रीन प्रयोग भएको छ । हेडअप डिस्प्ले, १६ स्पीकर, एडास लेभल टु पाउन सकिन्छ । साथै, सुरक्षाको लागि ७ एयरब्याग, ३६० डिग्री क्यामेरा दिएको छ । पानारोमिक ग्लास रुफ, भ्यान्टिलेटेड सिट जस्ता फिचरले एसयूभीलाई अब्बल बनाएको छ ।

४. कुपे डिजाइन : मस्कुलर, फ्यूचरस्टिक, उत्कृष्ट रोड प्रेजेन्स पाइने एसयूभी कुपे डिजाइन मनपराउनेलाई आकर्षित गर्न सफल हुन्छ । फराकिलो क्याबिन र उत्कृष्ट ब्यूल्ट क्वालिटीका कारण यसले उपभोक्तालाई निरास बनाउने छैन ।

५. तीव्र चार्जिङ : एक्सईभी नाइन ईको अर्को बलियो पक्ष  तीव्र गतिमा चार्ज हुनु हो । यसलाई २० देखि ८० प्रतिशतसम्म चार्ज गर्न केबल २० मिनेट लाग्छ । यसले १८० किलोवाटसम्मको डीसी चार्जर सपोर्ट गर्छ ।


Back_to_top