भरतपुरमा यातायात व्यवस्थापन गर्न आजदेखि यी १४ नियम लागू

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा पर्ने मुख्य बजार क्षेत्रको यातायात व्यवस्थापनलाई प्रभावकारी बनाइने भएको छ ।

शनिबार प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको यातायात व्यवस्थापन समितिको बैठकले आज (फागुन १० )देखि लागू गर्ने गरी करिब १ दर्जन निर्णय गरेको हो ।

बैठकले लामो तथा छोटो दूरीका सवारी संचालन, मालवाहक सवारीको रुट व्यवस्थापन, ध्वनि प्रदूषण नियन्त्रण, पार्किङ, टिकट काउन्टर व्यवस्थापन र सडक पूर्वाधार सुधार सम्बन्धी निर्णय गरेको हो ।

आजदेखि भरतपुर महानगर क्षेत्रभित्र जथाभावी यात्रु चढाउने तथा ओराल्ने प्रयोजनका लागि सवारी रोक्न नपाइने निर्णय गरिएको छ । केन्द्रीय बसपार्क (पारस बसपार्क) र नारायणगढ (पोखरा) बसपार्कबाट क्यू लिई संचालन हुने बस तथा मिनीबसले रातिको पार्किङ सोही बसपार्कमा गर्नुपर्नेछ ।

त्यस्तै, गोन्द्राङदेखि पुल्चोक हुँदै आँपटारीसम्म जथाभावी हर्न बजाउन निषेध गरिएको छ । पूर्वपश्चिम राजमार्ग, पुल्चोक–आँपटाँडी सडक तथा बाइपास सडकको दायाँबायाँ भागमा निजी तथा भाडाका सवारी पार्किङ निषेध गरिएको छ ।

त्यसैगरी, पुल्चोक, सहिदचोक, लायन्सचोक, चौबिसकोठी चोक र केन्द्रीय बसपार्क चोक लगायत स्थानमा रहेका विभिन्न यातायात प्रालिका टिकट काउन्टर, बसपार्क प्रयोग तथा कवाडी शुल्क उठाउने काउन्टर ७ दिनभित्र हटाई सम्बन्धित बसपार्कमा राख्नुपर्नेछ ।

केन्द्रीय बसपार्क चोकदेखि आँपटारीसम्मको बाइपास सडकखण्डका जोखिमयुक्त मिडियन क्रसिङ सडक डिभिजन कार्यालयले बन्द गराउने निर्णय गरिएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत गोन्द्राङदेखि पुल्चोकसम्मको सर्भिस लेनलाई एकतर्फी बनाइ ट्राफिक व्यवस्थापन गरिनेछ ।

त्यस्तै, पूर्वी जिल्लाबाट काठमाडौं तथा पोखरा जाने यात्रुवाहक बस, मिनीबस, माइक्रोलगायत सवारीले अनिवार्य रूपमा केन्द्रीय बसपार्कमा ‘पिक एन्ड ड्रप’ गरी केन्द्रीय बसपार्क चोक हुँदै बाइपास सडक प्रयोग गरी आँपटारी चोकबाट बाहिरिनुपर्नेछ । पूर्वीबाट पश्चिमतर्फ जाने सवारीले केन्द्रीय बसपार्कमा ‘पिक एन्ड ड्रप’ गरी चौबिसकोठी, लायन्सचोक हुँदै पुलचोकबाट बाहिरिनुपर्नेछ ।

त्यसैगरी, पश्चिम क्षेत्रबाट पूर्व तथा काठमाडौंतर्फ जाने यात्रुवाहक सवारीले केन्द्रीय बसपार्कमा ‘पिक एन्ड ड्रप’ गरी केन्द्रीय बसपार्क चोक हुँदै गन्तव्यतर्फ जानुपर्नेछ । बागलुङ, पोखरा तथा काठमाडौंबाट पूर्व वा पश्चिम जाने सवारीले आँपटारीबाट बाइपास सडक हुँदै केन्द्रीय बसपार्कमा ‘पिक एन्ड ड्रप’ गरी गन्तव्यतर्फ जानुपर्नेछ ।

चितवनबाट पूर्व तथा पश्चिम जाने लामो दूरीका सवारीले अनिवार्य रूपमा केन्द्रीय बसपार्कबाट मात्र यात्रु लिनुपर्नेछ । चितवनबाट बागलुङ, पर्वत, पोखरा, स्याङ्जा, गोरखा र लमजुङ जाने बस तथा मिनीबस नारायणगढ (पोखरा) बसपार्कबाट क्यू लिई आँपटारी हुँदै बाहिरिनुपर्नेछ ।

भरतपुर महानगर क्षेत्रको रिङरोडमा चल्ने म्याजिकको क्यू र पार्किङ सम्बन्धित समितिले व्यवस्थापन गरेका स्थानमा हुनेछ । त्यसको जानकारी महानगर तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई दिनुपर्नेछ । भरतपुरबाट टाँडी, पर्सा, भण्डारा, लोथर जाने तथा त्यहाँबाट आउने बस र म्याजिकको क्यू तथा पार्किङ केन्द्रीय बसपार्कमा हुनेछ भने अन्तिम विन्दु लायन्सचोक तोकिएको छ ।

नारायणगढबाट कावासोती, डन्डा, हेटौंडा र वीरगन्ज जाने बस तथा मिनीबसको क्यू लिने स्थान केन्द्रीय बसपार्क हुनेछ । सम्बन्धित बसपार्कबाट छुटेका मिनीबस तथा म्याजिकले तोकिएका स्थानबाहेक अन्यत्र ‘पिक एन्ड ड्रप’ तथा पार्किङ गर्न पाउने छैनन् । स्थानीय सवारीको ‘पिक एन्ड ड्रप’ स्थान महानगर, सडक डिभिजन कार्यालय, ट्राफिक प्रहरी र यातायात समितिको संयुक्त अनुगमनपछि निर्धारण गरिनेछ ।

भरतपुरबाट पश्चिम चितवनतर्फ जाने बस तथा म्याजिक चौबिसकोठी हुँदै लायन्सचोकबाट घुमाउनुपर्नेछ । सम्बन्धित स्थलबाट छुटेका सवारी तोकिएको अन्तिम स्थानसम्म अनिवार्य पुग्नुपर्नेछ ।

जिल्लाभित्र चल्ने लोकल मिनीबस, म्याजिक र अटो आ-आफ्नो क्यू छुट्ने पार्कबाट रुट नम्बरका आधारमा संचालन गर्नुपर्नेछ । रुट नम्बर स्टिकर सम्बन्धित यातायात प्रालिले व्यवस्थित गर्नुपर्नेछ ।

भरतपुर महानगर क्षेत्रमा चल्ने अटो अनिवार्य रूपमा प्रालिमा दर्ता भई सोही प्रालिको लोगो लगाएर मात्र संचालन गर्नुपर्नेछ । लोगो नभएका अटो संचालनमा रोक लगाइनेछ । अटो नवीकरण सम्बन्धित प्रालिको सिफारिसमा मात्र हुनेछ । अटोको रुट, सेक्टर विभाजन तथा रङ निर्धारण महानगरपालिका, यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी र सम्बन्धित प्रालिको सहकार्यमा गरिनेछ । रुट मार्किङ तथा स्टिकर व्यवस्था गरी तोकिएको रुटबाहेक अन्यत्र संचालन निषेध गरिनेछ । तीनपाङ्ग्रे साना सवारीलाई बजार क्षेत्रको राजमार्ग प्रयोगमा पूर्ण रोक लगाइएको छ ।

नारायणगढ बजारको पुल्चोकदेखि पोखरा बसपार्कतर्फ जाने सडकमा बिहान ८ देखि बेलुका ८ बजेसम्म ठूला मालवाहक तथा लामो दूरीका सवारी प्रवेश निषेध गरिएको छ । काठमाडौं तथा पोखराबाट आउने यस्ता सवारीलाई पनि सोही अवधिमा बजार प्रवेशमा रोक लगाई बाइपास सडक प्रयोग अनिवार्य गरिएको छ । बिहान ९ देखि बेलुका ७ बजेसम्म बजार क्षेत्रमा मालवाहक सवारीले लोडअनलोड गर्न पाउने छैनन् ।

निर्णय कार्यान्वयनका लागि आवश्यक सामग्रीको बजेट भरतपुर महानगरपालिकाले सुनिश्चित गर्ने र आफ्नो कार्यक्षेत्रभित्रका सडक पूर्वाधार सडक डिभिजन कार्यालयले व्यवस्थापन गर्ने जनाएको छ ।


Back_to_top