नयाँ क्रेटा जनवरी १६ तारिखमा सार्वजनिक हुने

काठमाडौं । हुन्डाई मोटर्सको सबैभन्दा सफल कम्प्याक्ट एसयूभी क्रेटाको फेसलिफ्ट मोडल अर्को महिना ग्लोबल लन्च हुने भएको छ । कम्पनीले आगामी जनवरी १६ मा क्रेटा फेसलिफ्ट लन्च गर्ने मिति घोषणा गरेको हो ।

भारतीय बजारमा सार्वजनिक हुन लागेको नयाँ क्रेटा युनिक एक्टेरियर र धेरै फिचर दिएर आउन लागेको हो । जुन अन्य ब्राण्डको प्रतिस्पर्धीभन्दा धेरै टेक फिचरको साथ आउने छ ।

अहिले बिक्री भइरहेको क्रेटा सन् २०२० मा अपडेट भएको थियो । हुन्डाइले केही देशमा बिक्री गरिरहेको क्रेटामा टुसानको जस्तै प्यारामेट्रिक हिडन लाइट ग्रिल डिजाइन दिएको छ । तर, यो भर्सनको क्रेटा भारतमा बिक्री भएको छैन । यो क्रेटा मध्यपूर्व तथा केही आसियान देशहरूमा बिक्री भइरहेको छ ।

आगामी वर्षको पहिलो त्रैमासबाट भारतमा बिक्री सुरू हुने अनुमान गरिएको क्रेटामा भने फरक डिजाइनको फ्रन्ट र रियर स्टायलिङ हुनेछ । यसमा हुन्डाईको नयाँ लन्च भएका गाडीहरू एक्टर, सान्ताफे र प्यालासेडकाे जस्तै लुक्स हुनेछ ।

फेसलिफ्ट क्रेटामा अपडेटेड रिभ्याम्प टेलगेट रहने छ । यसमा एक्टरमा जस्तै अंग्रेजी अक्षर ‘एच’ सेपको एलईडी डीआरएल हुनेछ । यसका अलावा फेसलिफ्ट क्रेटामा भर्टिकल स्प्लीट हेडल्याम्प डिजाइन, क्यूब जस्तो डिटेलिङ र अपडेटेड ग्रिल पाउन सकिनेछ ।

नयाँ क्रेटाको इन्टेरियरमा ३६० डिग्री क्यामरासहित एडास फिचर पाउन सकिनेछ । यसका अलावा इन्टेरियरमा कुनै ठूलो परिवर्तन नहुने अनुमान गरिएको छ । क्रेटामा अब ठूलो साइजको १८ इन्चको ह्वील आउन सक्नेछ भने, इन्टेरियरमा रहेको १०.२५ इन्चको इन्फोटेन्मेन्ट स्क्रीन पुरानै कायम रहने छ ।

क्रेटामा १.५ लिटरको टर्बो पेट्रोल, १.५ लिटरकै नेचुरल एस्पिरेटेड पेट्रोल तथा १.५ लिटरको डिजल इन्जिन अप्सन रहनेछ । यी इन्जिनहरूसँग ७ स्पीडको ड्युल क्लच र म्यानुअल गियरबक्स अप्सन पाउन सकिनेछ ।

 


Back_to_top