भारतमा टिक्नै मुश्किल अवस्थामा पुगे यूरोपियन र अमेरिकी कार ब्राण्ड

काठमाडौं । विश्वकै तेस्रो ठूलो अटोमोवाइल बजार भारतमा यूरोपियन र अमेरिकी ब्राण्डका कारको बिक्री निरन्तर ओरालो लागेको छ । भारतीय लगानीका ब्राण्डहरु टाटा, महिन्द्रा र मारुती सुजुकीले नै सुरक्षित, फिचर लोडेड र आकर्षक डिजाइनमा कार उत्पादन थालेसँगै विदेशी ब्राण्डलाई कठिन भएको हो ।

अमेरिकी ब्राण्ड सेभ्रोलेटले सन् २०१७ मा आफ्नो सम्पूर्ण उत्पादन बन्द गरेर भारतबाट बाहिर निस्केको हो । सन् २०२१ मा अर्को चर्चित अमेरिकी ब्राण्ड फोर्डले पनि आफ्नो उत्पादन बन्द गर्यो । यी दुबै ब्राण्डले भारतमा रहेको आफ्नो उत्पादन प्लान्टसमेत बिक्री गरिसकेका छन् ।

यूरोपियन ब्राण्डहरु अहिले भारतमा सक्रिय छन् । तर, उनिहरुले चाहेको जस्तो बिक्री भेट्टाउन सकिरहेका छैनन् । जुन कुरालाई भर्खरै सार्वजनिक भएको २०२३ नोभेम्बरको बिक्री रिपोर्ट पुष्टि गर्छ ।

सन् २०२२ नोभेम्बरको तुलनामा अहिले भारतमा कार बिक्री ४ प्रतिशतले वृद्धि भएको छ । यो बर्षको नोभेम्बरको बिक्री आंकडा अनुसार कुल अटोमोवाइलको बिक्री ४ प्रतिशतले बढेको देखिन्छ । गत वर्ष नोभेम्बर महिनामा ३ लाख २२ हजार ३७ यूनिट प्यासेन्जर कार बिक्री भएकोमा यो बर्ष ३ लाख ३४ हजार ८६८ यूनिट कार बिक्री भएको हो ।

भारतमा फ्याक्ट्रीनै लगाएर उत्पादन गरिरहेका युरोपियन ब्राण्डहरु फक्वागेन, स्कोडा, रेनो, सिट्रोन तथा अमेरिकी  जीपको बिक्री गत वर्षको तुलनामा भारी अंकले गिरावट आएको छ ।

अहिले सबैभन्दा बढि बजारमा गुमाउने अमेरिकी ब्राण्ड जीप हो । उसले आफ्नो बिक्री ६४.५४ प्रतिशत गुमाएको छ । २०२३ नोेभेम्वरमा जीपले केबल ३१७ यूनिट कार बिक्री गरेको छ ।

त्यस्तै यूरोपियन ब्राण्ड रेनोले ६१.२३ प्रतिशत, सिट्रोनले ३४.९१ प्रतिशत, स्कोडाले १४.६६ प्रतिशत र फक्सवागेनले १३.३१ प्रतिशतले बिक्री गुमाएका हुन् । नोभेम्बरमा कोरियन ब्राण्ड कियाको समेत ५.२६ प्रतिशतले बिक्री घटेको हो ।

भारतीय र जापानी ब्राण्डको ग्रोथ अब्बल

यूरोपियन र अमेरिकी ब्राण्डको बिक्री लगातार घटिरहँदा भारतीय ब्राण्डहरुको ग्रोथ निकै राम्रो देखिएको छ । लगातार बिक्री बढाइरहेको महिन्द्र्राले अघिल्लो वर्षको तुलनामा ३२.२४ प्रतिशत बढी कार बिक्री गरेको छ ।

त्यस्तै मारुती सुजुकीको १.३३ प्रतिशतले, टाटा मोटर्सका ०.०७ प्रतिशतले बिक्री बढेको छ । नोभेम्बरमा सबैभन्दा धेरै जापनीज ब्राण्ड टोयोटाले ४३.८५ प्रतिशतले बिक्री बढाउन सफल भएको देखिन्छ ।

त्यसैगरी, अर्को जापनीज ब्राण्ड होन्डाको २३.८१ प्रतिशत, निसानको २.२५ प्रतिशतले बिक्री बढाएका छन् । ब्रिटीस-चाइनीज ब्राण्ड एमजीले पनि गत वर्षको नोभेम्बरभन्दा यो वर्षको नोभेम्बरमा ७५ यूनिट धेरै कार बिक्री गरेको छ ।


Back_to_top