काठमाडौं । मुख्य चाडपर्वको समय सकिएको छ । औषतभन्दा धेरै गाडी बिक्री हुने चाडपर्वको समयमा करिब २ हजार ५०० यूनिट विद्युतीय कार बिक्री भएको अनुमान गर्न सकिन्छ ।
विशेषगरी बिक्रेता कम्पनीहरुले ‘नाडा अटो शो २०२३’ बाटै चाडपर्व केन्द्रित स्कीम ल्याएर ग्राहक आकर्षण गर्ने काम गरेका थिए । विद्युतीय कारमा कम्पनीहरुले खासै स्कीम ल्याएका थिएनन् । तर, अटो शोमा आएका केही मोडलले ग्राहकलाई आकर्षित गर्न सफल भए ।
दशैं अगाडि बजारमा आएका नयाँ विद्युतीय कार मध्ये टियागो ईभीले निकै राम्रो ब्यापार गर्न सफल भएको छ । त्योसँगै नयाँ आएको बीवाइडी डल्फीनले पनि राम्रो चर्चा र बुकिङ पाएको थियो । तर, डल्फीनको डेलिभरी अहिले मात्र तिब्र गतिमा भइरहेको छ ।
हामीले दशैं तिहारलाई लक्षित गरेर भदौ, असोज र कार्तिकमा आयात भएको ईभीलाई आधार मानेर सर्वाधिक सफल तीन ईभीको समाचार प्रकाशन गरेका हौं ।
१. टाटा टियागो

भदौ अन्तिममा नेपाल आएपनि दुई महिनाको अवधिमा नै टियागो ईभीको आयात द्रुत गतिमा भएको देखिन्छ । सिप्रदी ट्रेडिङले कायम गरेको आक्रमक मूल्य र ह्याचव्याकमा पर्फेक्ट कार चाहने ग्राहकको संख्या धेरै हुँदा टियागोको बुकिङ र बिक्री राम्रो भयो ।
सिप्रदीले भदौमा २४४ यूनिट, असोजमा ४०३ यूनिट र कार्तिकमा ४८ यूनिट गरी कुल ६९५ यूनिट टियागो नेपाल ल्याएको छ । जुन तीन महिनामा आयात भएको सबैभन्दा धेरै यूनिट कार हो । यी कारहरु दशैं तिहारलाई लक्षित गरेर ल्याइएको हो ।
२. बीवाइडी एटो–३
आयातको हिसावले सन् २०२३ मा ९७२ यूनिट एटो–३ नेपाल आएको छ । बिक्री हिसावले यो आर्थिक वर्षको ४ महिनामा सबैभन्दा धेरै बिक्री हुने ईभी मध्येको एक एटो–३ हो ।

ग्राहकको निकै ठूलो आकर्षण रहेको एटो–३ दुई ब्याट्री अप्सनमा उपलब्ध छ । दुबै अप्सनको माग अहिले पनि निकै राम्रो मानिन्छ । ५५ लाख ९९ हजार र ६५ लाख ८० हजार मूल्य रहेका एटो–३ निकै राम्रो बिक्री भइरहेको छ ।
बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले भदौमा १८४ यूनिट एटो–३ नेपाल ल्याएको थियो । साथै, असोजमा २२४ र कार्तिकमा १२९ यूनिट आयात भएको छ । तीन महिनामा एटो–३ को आयात ५३७ यूनिट भएको हो ।
३. एमजी जेडएस
मोरिस ग्यारेज (एमजी)को आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले बिक्री गर्ने जेडएस ईभीको बिक्री पनि निकै राम्रो संख्यामा भएको थियो । एमजी जेडएस ईभीको आयात पनि सन् २०२३ मा ८७७ यूनिट भएको छ ।

पारामाउन्ट मोटर्सले गत बैशाखबाट नेपाल ल्याउन पुनः सुरु गरेको जेडएस ईभी कार्तिकमा आयात भएको छैन । असोजमा ५४ यूनिट र भदौमा २८६ यूनिट आयात भएको थियो । पछिल्ला तीन महिनामा ३४० यूनिट मात्रै आयात भएको देखिन्छ ।


