७ करोड ३६ लाख पर्ने ‘फेरारी अमाल्फी स्पाइडर’मा के छ खास ?

काठमाडौं । भारतमा ‘फेरारी अमाल्फी स्पाइडर’ मोडलको बुकिङ खुला भएको छ । इटालियन सुपरकार निर्माता फेरारीले ७ करोड ३६ लाख नेपाली रुपैयाँ मूल्य तोकेर यसको बुकिङ खुलाएको हो ।

फेरारी अमाल्फी स्पाइडर कनभर्टिबल ग्रान्ड टुरर मोडल हो । मार्च २०२६ मा विश्वव्यापी रूपमा सार्वजनिक भएको यो मोडल छिमेकी भारतमा पनि बिक्री सुरु हुन लागेको छ ।

मूल्यका हिसाबले ७ करोड ३६ लाख पर्ने कनभर्टिबल कारमा के छ भन्ने जिज्ञासा तपाईमा छ भने सुरुमा इन्जिनको कुरा गरौं । यसमा ३.९ लिटर ट्विन-टर्बो भी-८ पेट्रोल इन्जिन छ । यसको अधिकतम पावर ६४० एचपी हो । यसले ७६० एनएम टर्क उत्पादन गर्छ । इन्जिनसँगै ८-स्पिड डुअल–क्लच अटोमेटिक गियरबक्स पाउन सकिन्छ ।

रियर ह्वील ड्राइभ सिस्टममा कनभर्टिबल ग्रान्ड टुरर मोडललाई ० देखि १०० किलोमिटर प्रतिघन्टाको स्पीड भेट्टाउन केबल ३.३ सेकेन्ड लाग्छ । यसको टप स्पीड भने ३२० किलोमिटर प्रतिघन्टा छ ।

डिजाइनका हिसाबले अमाल्फी स्पाइडर कुपे संस्करणसँग निकै मिल्दोजुल्दो छ । यसको मुख्य विशेषता भनेको फोल्ड हुने कपडाको छत हो । जुन केबल १३.५ सेकेन्डमै खोल्न वा बन्द गर्न सकिन्छ । यसको छत खोल्ने र बन्द गर्ने काम गाडी ६० किलोमिटर प्रति घन्टासम्म स्पीडमा गुड्दा पनि गर्न सकिन्छ ।

यसलाई किन्ने ग्राहकले चार फरक कलरमा छतको कपडा छान्न सक्छन् । पाँच तहको विशेष कपडाबाट बनेको छतले हार्डटप मोडलसरह ध्वनि नियन्त्रण गर्ने कम्पनीको दाबी छ । साथै, पछाडिको सिटमा विन्ड डिफ्लेक्टर दिइएको छ । त्यसले खुला छानासहित यात्रा गर्दा पनि हावाको आवाज कम गर्छ ।

यसलाई अगाडि दुई र पछाडि दुई सिटमा पाउन सकिन्छ । १०.२५ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, १५.६ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, ८.८ इन्चको यात्रु डिस्प्ले, पावर एड्जस्ट हुने स्पोट्र्स सिट तथा भौतिक बटनयुक्त थ्री स्पोक स्टेयरिङ ह्विल पाउन सकिन्छ ।

अन्य फिचरका रूपमा वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, एडास, एडाप्टिभ क्रुज कन्ट्रोल, कनेक्टेड कार टेक्नोलोजी, अटोमेटिक क्लाइमेट कन्ट्रोल, वायरलेस चार्जर लगायतका सुविधा समावेश छन् । ग्राहकले आफ्नो रुचिअनुसार इन्टेरियरको सामग्री, रङ र ट्रिम पनि व्यक्तिगत रूपमा छनोट गर्न सक्नेछन् ।


Back_to_top