दशैंमा २५ लाखको नयाँ कार खोज्नेलाई उत्कृष्ट ४ विकल्प

काठमाडौं । दशैं-तिहार जस्ता ठूला चाडपर्व नजिक आएका छन् । अघिल्ला वर्षहरुको जस्तै सामान्य समय थियो भने, अहिले बजारमा छुट्टै किसिमको रौनक देखिन्थ्यो । तर, यसपटक कोरोना भाइरसको कारण अर्थतन्त्र निकै खुम्चीएको छ भने, हरेक क्षेत्र कसरी चल्ने भन्ने चिन्तामा रहेको छ । यद्यपी दशैं नजिकिएसँगै त्यसलाई लक्षीत गरेर बजारमा केही चहल पहल आउने अनुमान गर्न सकिन्छ ।

यस्तोमा तपाईले पनि कम रकम खर्च गरेर सानो परिवार हिड्न मिल्ने कार किन्ने तयारी गर्नु भएको छ भने, बजारमा विभिन्न ४ कम्पनीले बिक्री गर्दै आएको २३ लाखदेखि २५ लाख भित्रका कार उपयुक्त हुन सक्छन् ।

अहिले बजारमा उपलब्ध हुन्डाई सेन्ट्रो, सुजुकी सेलेरियो, रेनो क्वीड र टाटा टियागो (स्टायडर्ड मोडल) एक अर्काका प्रतिस्पर्धी हुन् । यी कार कम रकममा पर्फेक्ट फ्यामलि कार बन्न सक्छन् । यी सबै कारको विशेषता पनि पारिवारीक कार नै हो ।

पक्कैपनि यी सबै कम्पनीले कुनै न कुनै नयाँ अफर ग्राहकलाई दिने छन् । यस्तोमा ग्राहकको रोजाइमा यी ह्याचव्याक कारहरु पर्ने संभावना धेरै रहेको छ ।

सुजुकी सेलेरियोः मारुती सुजुकी सेलेरियो नेपालमा सिजी मोटोकर्पले बिक्री वितरण गर्दै आएको छ । कम्पनीले यसमा ९९८ सीसी क्षमताको के१०बी थ्रि सिलिण्डर इन्जिन दिएको छ । यसमा रहेको इन्जिनले ६७ किलोवाट पावर र ९० एनएम टर्क प्रदान गर्छ ।

पाँच जनाले आरामदायी यात्रा गर्न सक्ने यो कारमा सुरक्षाको लागि एबीएस, इबीडी, एयरव्याग, पार्किङ क्यामेरा जस्ता फिचर दिइएको छ । स्टेरिङ माउन्ट अडियो कन्ट्रोल, मल्टी इन्फर्मेशन डिस्प्ले जस्ता फिचरले यसलाई उत्कृष्ट बनाएको छ । कम्पनीले यसको एलएक्सआई भेरियन्टको मूल्य २४ लाख ९९ हजार रुपैयाँ राखेर बिक्री वितरण गर्दै आएको छ ।

हुन्डाई सेन्ट्रोः लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले बिक्री गर्दै आएको टल ह्याचब्याक डिजाइनकाे सेन्ट्रो चर्चित मोडलमा पर्छ । ठूलो स्पेश, शानदार लूक्स, फगल्याम्प्स, एड्जस्टेबल हेड रेस्ट जस्ता विशेषताले सेन्ट्रो नेपाली बजारमा निकै चर्चित रहेको छ । त्यस्तै नयाँ सेन्ट्रोमा सुरक्षाका लागि एबीएस, इबीडी, एयरब्याग, इन्जिन इमोबिलाइजर, चाइल्ड सेफ्टी डोर लक जस्ता सेफ्टी फिचर दिइएको छ ।

सेन्ट्रोमा १.१ लिटर फोर-सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ । जसले ६९ पीएस पावर र ९९ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीड म्यानुअल गियरबक्स दिइएको छ । कम्पनीले सेन्ट्रो इरा भेरियन्टको मूल्य २३ लाख ९६ हजार रुपैयाँ तोकेको छ ।

टाटा टियागोः सिप्रदी ट्रेडिङले नेपालमा बिक्री वितरण गर्दै आएको टियागोको स्टायडर्ड भेरियन्ट एक्सईको मूल्य २४ लाख ९५ हजार रुपैयाँ रहेको छ । यो भेरियन्ट टाटा टियागोको सबैभन्दा सस्तो भेरियन्ट हो । यसमा ११९९ सीसी क्षमताको थ्रि सिलिण्डर इन्जिन दिएको छ । उक्त इन्जिनले ८४ बीएच पावर प्रदान गर्ने छ । यसमा ५ स्पीड म्यानुयल गियरबक्स दिइएको छ ।

ग्लोबल एनक्याप क्र्यास टेस्टमा ४ स्टार रेटिङ पाएको यो कारमा एबीएस, इबीडी, एयरव्याग, चाइल्ड सेफ्टी लक जस्ता फिचर उपलब्ध छन् ।

रेनो क्वीडः एड्भान्स अटोमोवाइलले बिक्री सुरु गर्न लागेको रेनो क्वीड फेसलिफ्टको आरएक्सटी (ओ) भेरियन्टको मूल्य २४ लाख ९९ हजार रुपैयाँ रहेको छ । यसमा रहेको ९९८ सीसी क्षमताको थ्रि सिलिण्डर इन्जिनले ६८ पीएस पावर र ९१ एनएम टर्क उत्पादन गर्छ । आकर्षक ग्रिल, रिस्टाइल बम्पर, स्प्लिट हेडल्याम्प सेटअपसँगै एलइडी डिआरएलएस दिइएको क्वीडको फ्रन्ट र रियर साइडलाई निक्कै परिवर्तन गरिएको छ ।

पहिलेको तुलनामा आधुनिक फिचर दिइएको क्वीडमा पावर विन्डो, दुई एयरब्याग, रियर पार्किङ सेन्सर, एन्ड्रोइड अटो, एप्पल कार प्ले, रियर सिट आर्मेस्ट, एयरब्याग, एबीएस, इबीडी, रियर सेन्सर, सिटबेल्ट रिमाइन्डर, स्पीड अलर्ट सिस्टम जस्ता फिचर उपलब्ध रहेको छ ।

यसको इन्टेरियरमा नयाँ डिजाइनको ड्यास बोर्ड दिइएको छ । डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, स्टेयरिंग ह्वील, ट्राइबरमा लगाइएको लार्ज साइज ८.० इन्चको टचस्क्रिन इन्फोटेनेमन्ट सिस्टमले कारलाई पहिलेको तुलनामा उत्कृष्ट देखाएको छ ।


Back_to_top