काठमाडौं । हुन्डाईले आगामी हप्ता दुई नयाँ कार सार्वजनिक गर्ने भएको छ । कम्पनीले बहु चर्चित हुन्डाईको नयाँ जेनेरेशन मोडल र ग्राण्ड आई १० नियोस सार्वजनिक गर्न लागेको हो । यी दुबै गाडी नेपाल आइसकेको छ । कम्पनीले केही दिनअघि सेडान कार अउरा पनि सार्वजनिक गरेको थियो ।
हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले ल्याउन लागेको ग्राण्ड आई १० नियो र नयाँ जेनेरेशन क्रेटा दुबै प्रतिक्षित मोडलको रुपमा रहेको छ । नेपालमा सर्वाधिक सफल मध्येको एक एसयूभी क्रेटा भारतमा पनि निकै राम्रो बिक्री भइरहेको मोडल हो । त्यस्तै ग्राण्ड आई १० नियोस कम्पनीको लाइनअपमा नयाँ थप मोडलको रुपमा आउन लागेको हो ।
‘क्रेटा र नियोस दुबै नेपाल आइसकेको छ । यसको मूल्य लगायत लञ्चिङको तयारी गरिरहेका छौं’, कम्पनी स्रोतले भन्यो ।
भारतमा यी दुबै गाडी डिजेल र पेट्रोल इन्जिनमा उपलब्ध रहेको भएपनि नेपालमा कुन कुन इन्जिनमा आएको छ भन्ने विषयमा कम्पनीले कुनै जानकारी दिएको छैन । तर, क्रेटाको मूल्यभने ठूलो अन्तर नहुने जनाएको छ ।
क्रेटामा १.५ लिटर पेट्रोल, १.४ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिन रहेको छ । नियोसमा १.२ लिटर पेट्रोल र डिजेल इन्जिन उपलब्ध रहेको छ । दुबै इन्जिन फोर सिलिण्डर, बीएस ६ हुन् । क्रेटामा ६ स्पीड गियरबक्स रहेको छ भने नियोसमा ५ स्पीड गियरबक्स दिइएको छ । तर, नेपालमा कुन कुन इन्जिनयुक्त गाडी आएको छ त्यसबारे जान्न भने केही दिन कुर्नु पर्ने हुन्छ ।

