फोटोनले ल्यायो १९ सिट क्षमताको माइक्रोबस, यस्तो छ मूल्य र विशेषता

काठमाडौं । फोटोनको आधिकारीक वितरक एमएडब्ल्यू वृद्धिले १९ सिट क्षमताको माइक्रोबस ‘सिएस२’ बजारमा ल्याएको छ । कम्पनीले ल्याएको नयाँ माइक्रोबसको मूल्य ७२ लाख रुपैयाँ रहेको छ ।

१९ जना यात्रुले आरामदायी रुपमा यात्रा गर्न सक्ने यो माइक्रोबसले टोयोटा जम्बो हायससँग प्रतिस्पर्धा गर्ने देखिन्छ । मूल्यका हिसावले हायसभन्दा सस्तो रहेको फोटोन ‘सिएस२’ यूरो ४ मापदण्डको डिजेल इन्जिनमा उपलब्ध रहेको छ ।

२७७६ सीसी क्षमताको यो माइक्रोबसमा दिइएको इन्जिनले अधिकतम ३६०० आरपीएममा १४७.५ हर्स पावर प्रदान गर्ने छ भने १४०० देखि ३००० आरपीएममा ३३० एनएम टर्क प्रदान गर्ने छ । यसमा ५ स्पीड म्यानुयल गियरबक्स उपलब्ध रहेको छ ।

माइक्रोबसको लम्बाई ५९९० एमएम, चौडाई १९२० एमएम र उचाई २३२० एमएम रहेको छ । यसमा ३७२० एमएमको ह्वीलवेस दिइएको छ । अगाडि चालक र सहचालकको सिटमा एयरव्याग दिइएको छ । डेटाइम रनिङ लाइट, हाइमाउन्ट ब्रेक ल्याम्प, रियर डिफगर, रियर वाइपर, सेन्ट्रल लक जस्ता फिचरले यो माइक्रोबसलाई सुरक्षीत बनाएको छ ।

आल्मुनियम अलोय ह्वील, एबीएस, इबीडी, एड्जस्ट गर्न मिल्ने ड्राइभर सिट, लेदरले मोरिएको स्टेरिङ ह्वील, प्यासेन्जर हेडरेष्ट, ६ वटा स्पीकर, अगाडि र पछाडि नै एसीको सुविधा जस्ता कारण फोटोन ‘सिएस२’ ग्राहकले मनपराउने कम्पनीले दाबी गरेको छ ।

कम्पनीले यसमा ३ वर्ष वा एक लाख किलोमिटर जुन पहिला आउँछ शो बराबरको वारेन्टी दिएको छ ।


Back_to_top