काठमाडौं । ‘गेमचेन्जर’ शब्द नै निकै बलियो सुनिन्छ । गेमचेन्जर शब्द हरेक क्षेत्रमा प्रयोग गरिन्छ । त्यसबाट नेपाली अटोमोबाइल क्षेत्र अछुतो रहने कुरै भएन ।
खासगरी पछिल्ला दुई दशकमा जुन रफ्तारमा अटोमोबाइल क्षेत्र विस्तार भएको छ । त्यसमा फरक र पृथक सेग्मेन्टले निकै ठूलो काम गरेको हामीले पाएका छौं ।
सन् २००० पछिको अवस्थालाई केलाउने हो भने मारुती सुजुकी, हुन्डाई, महिन्द्रा, टाटा र बीवाइडी जस्ता ब्राण्डले बजारनै उथलपुथल बनाउने मोडलहरू बजारमा ल्याए । यी कम्पनीले ल्याएका मोडलहरूले निरन्तर सफलता पाइरहेका छन् ।
सन् २००० पछि बजारमा आएको महिन्द्रा स्कर्पियोलाई महत्वपूर्ण गेमचेन्जर मोडल मानिन्छ । टोयोटा, मित्शुबिशी र निसान जस्ता ब्राण्डले उपलब्ध गराउने ठूला र महँगा एसयूभीको स्थानमा महिन्द्राले कम मूल्यमा नै स्कर्पियो ल्यायो । त्यसले नेपालको एसयूभी सेग्मेन्टमा नयाँ मानक स्थापित गर्न सफल भयो । अहिले पनि स्कर्पियो नेपालमा चल्तीको मोडल हो ।

साना ह्याचब्याक कारको बजारमा हुन्डाई सेन्ट्रो र ग्राण्ड आई १० तथा सुजुकी सेलेरियो र स्वीफ्ट जस्ता मोडल पनि गेमचेन्जर हुन् । यी दुवै ब्राण्डले ल्याएका कारहरूले निकै ठूलो सफलता पाए । यी मध्ये ग्राण्ड आई १०, स्वीफ्ट र सेलेरियो अहिले पनि बजारमा जमेकै छन् ।
सन् २०१३ मा फोर्डले ल्याएको इको स्पोर्टस एसयूभी खोज्नेको लागि उत्कृष्ट मोडल बन्यो । यसको सफलताबाट प्रभावित भएर अन्य ब्राण्डले इको स्पोटर््सकै साइजमा झण्डै एक दर्जन मोडल बजारमा ल्याए । अहिले पनि यो चल्तीको सेग्मेन्ट हो ।
फोर्ड इको स्पोर्ट्सलाई पच्छाउँदै सुजुकी ब्रेजा, हुन्डाई भेन्यू, किया सोनेट, रेनो काइगर, निसान म्याग्नाइट, महिन्द्रा थ्रीएक्सओ, टाटा नेक्सन, स्कोडा काइल्याक जस्ता मोडल बजारमा आए । यी सबै मोडलले राम्रै चर्चा र सफलता पाए । तर, यो सेग्मेन्टको लागि गेमचेन्जर मोडल फोर्ड इको स्पोर्टस हो ।
अर्को सफल सेग्मेन्ट कम्प्याक्ट एसयूभी सेग्मेन्ट हो । यसमा पहिलो मोडल हुन्डाई क्रेटा बजारमा आएको थियो । यसले बजारमा नयाँ मानक नै स्थापित गर्यो । नेपाली बजारमा सन् २०१५ को अन्तिमबाट बिक्री सुरू भएको क्रेटाले अहिले पनि निकै ठूलो सफलता पाइरहेको छ । क्रेटालाई पच्छाउँदै धेरै नयाँ मोडल नेपाल आए । केही सफलता पनि पाए । तर, बजारमा लामो समय टिक्न सकेन । क्रेटा यो सेग्मेन्टको गेमचेन्जर बन्न सफल भयो ।
अहिले बजारमा सर्वाधिक चल्तीका ईभी क्रसओभर मोडल हुन् । यसको सुरूवात हुन्डाई कोना ईभी, एमजी जेडएस ईभी, टाटा नेक्सन ईभी जस्ता मोडलबाट बलियो बनेको हो । तर, क्रसओभर ईभी सेग्मेन्टको गेमचेन्जर मोडल बीवाइडी एटो थ्री हो । यसले नेपालमा ईभी बजारमा ठूलो परिवर्तन ल्यायो । यसको सफलतासँगै अहिले बजारमा पेट्रोल कारकोभन्दा बढी ईभीको बिक्री हुन थालेको छ ।

